• १५ असोज २०८३, बिहीबार
  • ३ः२४ दिउँसो

१९ दिन बाँकी हुँदा राजस्व लक्ष्यको ७५ प्रतिशत मात्रै पूरा, दैनिक १९ अर्बभन्दा बढी उठाउनुपर्ने दबाब

प्रकाशित मिति

२०८३ असार १४ गते, आईतवार १२:११

१४ असार २०८३ काठमाडौं-  चालु आर्थिक वर्ष सकिन १९ दिन बाँकी रहँदा सरकारले राजस्व संकलनमा लक्ष्यको ७५.१७ प्रतिशत मात्रै हासिल गरेको छ। अब वार्षिक लक्ष्य पूरा गर्न बाँकी अवधिमा दैनिक औसत करिब १९ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गर्नुपर्ने चुनौती सरकारसामु देखिएको छ।

National Life

महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १२ गते (शुक्रबार) सम्म सरकारले ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। लक्ष्य भेट्न अब तीन खर्ब ६७ अर्ब ५१ करोड रुपैयाँ थप राजस्व संकलन गर्नुपर्नेछ।

कार्यालयका अनुसार कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ उठाउने लक्ष्य रहेकामा हालसम्म १० खर्ब १० अर्ब १६ करोड तीन लाख रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ७६.२० प्रतिशत हो। गैरकर राजस्वतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएकामा हालसम्म एक खर्ब दुई अर्ब ३२ करोड ४३ लाख रुपैयाँ प्राप्त भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, चालु आर्थिक वर्षमा ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य रहेकामा हालसम्म २४ अर्ब ११ करोड १२ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ, जुन लक्ष्यको ४५.११ प्रतिशत हो। अन्य प्राप्ति शीर्षकबाट ६ अर्ब ५० करोड ५३ लाख रुपैयाँ संकलन भएसँगै सरकारको कुल प्राप्ति ११ खर्ब ४३ अर्ब १० करोड ११ लाख रुपैयाँ पुगेको छ, जुन वार्षिक लक्ष्यको ७४.५४ प्रतिशत हो।

यता सरकारी खर्च भने १४ खर्ब चार अर्ब ९८ करोड ८६ लाख रुपैयाँ पुगेको छ, जुन कुल विनियोजित बजेटको ७१.५३ प्रतिशत हो। शुक्रबार मात्रै सरकारले पाँच अर्ब ३६ करोड ८२ लाख रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

खर्चतर्फ चालु खर्चको प्रगति सबैभन्दा बढी देखिएको छ। चालु खर्चका लागि विनियोजित ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँमध्ये हालसम्म नौ खर्ब ४९ अर्ब ७५ करोड ९५ लाख रुपैयाँ खर्च भइसकेको छ, जुन लक्ष्यको ८०.४२ प्रतिशत हो।

विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने अझै कमजोर रहेको छ। चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य रहेकामा हालसम्म एक खर्ब ४२ अर्ब २३ करोड ६८ लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन लक्ष्यको ३४.८७ प्रतिशत हो।

वित्तीय व्यवस्थापनतर्फ भने प्रगति तुलनात्मक रूपमा उच्च रहेको छ। ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि विनियोजित तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँमध्ये हालसम्म तीन खर्ब १२ अर्ब ९९ करोड २३ लाख रुपैयाँ खर्च भएको छ, जुन लक्ष्यको ८३.४१ प्रतिशत बराबर रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

प्रतिकृया