• ३ असोज २०८३, शनिबार
  • १२ः२१ दिउँसो

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ असार ४ गते, बिहीबार ०९:१७

४ असार २०८३ काठमाडौं – देशमा हाल पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेकाले विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षासमेत भइरहेको छ।

National Life

आज दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

विभागका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा तातो दिन रहने सम्भावना रहेको विभागले जनाएको छ।

आज राति भने कोशी प्रदेशमा साधारणतया बदली रहनेछ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। रातिको समयमा पनि कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिकृया