अध्ययन बिदा लिएर नफर्किएका १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
प्रकाशित मिति
२०८३ असार ३ गते, बुधबार ११:३२
३ असार २०८३ काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपछि विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्किएका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक–कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो।
सूचनामा तोकिएको समयसीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ। त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकहरूबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भइसकेको छ।

यो प्रक्रिया शिक्षा तथा खेलकुद मन्त्रालयको पहल तथा त्रिविको सक्रियतामा अघि बढाइएको हो। विश्वविद्यालयले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भए पनि केहीले यसको दुरुपयोग गरेको जनाएको छ।

त्रिविले सम्झौताअनुसारको सेवा दायित्व पूरा नगर्नेहरूमाथि बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढाइने स्पष्ट पारेको छ।




प्रतिकृया