• २३ भदौ २०८३, मंगलबार
  • ४ः२४ बिहान

सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त, आजै शपथ ग्रहण

प्रकाशित मिति

२०८३ जेष्ठ २६ गते, मंगलवार १२:१३

काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त भएका छन्। उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गुरुङलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिइएको हो।

National Life

व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद गरेको विषयमा प्रश्न उठेपछि उनीमाथि चौतर्फी दबाब बढेको थियो।

रकमको स्रोतबारे प्रश्न उठेपछि गुरुङले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गर्दै आएका थिए। बढ्दो आलोचनाबीच उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी पहिलो कार्यकालमा २६ दिनमात्रै गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

यस विषयमा छानबिन गर्न मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी को अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए।

समितिले सार्वजनिक रूपमा उठेका आरोपबारे अध्ययन तथा छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो। ४५ पृष्ठ लामो प्रतिवेदनमा गुरुङका चल तथा अचल सम्पत्तिको अध्ययनपछि उनीमाथि लागेको आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालिएको थियो।

छानबिन समितिले गुरुङको सम्पत्ति वैध रहेको ठहर गर्दै सम्पत्ति विवरणमा देखिएका केही त्रुटिलाई व्यक्तिको नभई राज्यको प्रणालीगत कमजोरीका रूपमा व्याख्या गरेको थियो। समितिबाट सफाइ पाएपछि गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्।

प्रतिकृया