महोत्तरीमा अब घर-घरमै राहदानी
प्रकाशित मिति
२०८३ बैशाख ११ गते, शुक्रबार १०:२१
११ बैशाख २०८३ महोत्तरी — सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीले राहदानी वितरणमा नयाँ व्यवस्था लागू गरेको छ। अब राहदानी बनाउन आवेदन दिने सेवाग्राहीले आफ्नै घर ठेगानामै राहदानी प्राप्त गर्न सक्ने भएका छन्।
नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत बुँदा नम्बर २७ कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरी र जिल्ला हुलाक कार्यालय महोत्तरीबीच समझदारी भएपछि उक्त सेवा सुरु गरिएको हो।

सम्झौतामा जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत कामेश्वर यादव र जिल्ला हुलाक कार्यालय महोत्तरीका हुलाक अधिकृत रामचन्द्र साहले हस्ताक्षर गरेका छन्। उनीहरूबीच भएको सहमतिअनुसार अब सेवाग्राहीले आवेदन दिँदा उल्लेख गरेको ठेगानामै नेपाल हुलाक सेवामार्फत राहदानी सुरक्षित रूपमा पुर्याइनेछ।

हुलाक कार्यालयले राहदानी सुरक्षित ढुवानी गर्ने, प्राप्तकर्ताको पहिचान पुष्टि गरी हस्तान्तरण गर्ने तथा वितरणसम्बन्धी अभिलेख राख्ने जिम्मेवारी लिनेछ।
यसअघि राहदानी लिन सेवाग्राही स्वयं कार्यालय पुग्नुपर्ने बाध्यता रहेकामा नयाँ व्यवस्थाले समय, खर्च र झन्झट घटाउने विश्वास गरिएको छ। विशेषगरी ग्रामीण भेगका नागरिकलाई यस सेवाबाट बढी लाभ पुग्ने अपेक्षा गरिएको छ।
कार्यालयले आवेदन फाराम भर्दा आफ्नो ठेगाना र सम्पर्क विवरण स्पष्ट तथा सही उल्लेख गर्न सेवाग्राहीलाई आग्रह गरेको छ। साथै, सेवा प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायबीच समन्वय अझ सुदृढ बनाइने जनाइएको छ।




प्रतिकृया