नयाँ स्मार्ट लाइसेन्स अन्तरराष्ट्रिय मापदण्डअनुरूप, ३९ सुरक्षा विशेषतासहित लागू
प्रकाशित मिति
२०८३ बैशाख ८ गते, मंगलवार ०५:००
८ बैशाख २०८३ काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ, प्रविधि र सुरक्षा सुदृढीकरणसम्बन्धी पछिल्लो प्रगति सार्वजनिक गर्दै हाल लागू गरिएको प्रणाली अन्तरराष्ट्रिय मापदण्डअनुरूप, अझ सुरक्षित र व्यावहारिक रहेको जनाएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नयाँ स्मार्ट लाइसेन्स सुरक्षण मुद्रण केन्द्र मार्फत छापिँदै आएको छ र यसको प्राविधिक संरचना ‘आईएसओ ७८१० आइडी–१’ मापदण्डअनुसार तयार गरिएको छ। यो आकारमा विश्वभर प्रयोग हुने क्रेडिट कार्डजस्तै रहेको र विकसित देशहरूले लामो समयदेखि प्रयोग गर्दै आएको प्रविधिमा आधारित भएको जनाइएको छ।

विगतमा प्रयोग गरिएको ‘स्मार्ट चिप’ प्रविधि प्रभावकारी हुन नसकेको निष्कर्षपछि सरकारले नयाँ ढाँचा अवलम्बन गरेको हो। मन्त्रालयका अनुसार आवश्यक पूर्वाधार अभावका कारण चिपको उपयोगिता सीमित रहेकाले हाल उच्च सुरक्षासहितको कोड इन्क्रिप्टेड, लेयर्ड र कपी–प्रोटेक्टेड क्यूआर प्रविधि अपनाइएको छ। यसले इन्टरनेटबिनै अफलाइन माध्यमबाट पनि ट्राफिक प्रहरी वा नियामक निकायले कार्ड स्क्यान गरी सवारीचालकको पहिचान पुष्टि गर्न सक्ने व्यवस्था गरेको छ।

सुरक्षाका दृष्टिले नयाँ लाइसेन्समा तीन तहमा विभाजित ३९ वटा सुरक्षा विशेषता समावेश गरिएको मन्त्रालयले जनाएको छ। पहिलो तहमा आँखाले देखिने मेटालिक सिल्भर इंक, एमआरजेड र विशेष डिजाइनहरू छन् भने दोस्रो तहमा अदृश्य युभी मसी र इन्फ्रारेड प्रविधि प्रयोग गरिएको छ। तेस्रो तहमा प्रयोगशालामा मात्र परीक्षण गर्न सकिने ‘डिजिटल फिंगरप्रिन्ट’ र रसायनिक हस्ताक्षरजस्ता उच्चस्तरीय संयन्त्र समावेश गरिएको छ। प्रत्येक कार्ड फरक डिजाइनमा हुने भएकाले नक्कली बनाउने सम्भावना न्यून हुने दाबी गरिएको छ।
मन्त्रालयले सम्पूर्ण उत्पादन प्रक्रिया ‘एन्ड–टु–एन्ड अफलाइन’ प्रणालीमा सञ्चालन गरिएको स्पष्ट पारेको छ। यसले डेटा चुहावटको जोखिम घटाउने र नागरिकको गोपनीयता सुनिश्चित गर्ने उल्लेख गरिएको छ। क्यूआर कोडको वैधता कार्डको अवधि भरि कायम रहने जनाइएको छ।
सरकारको यो पहललाई सुरक्षण मुद्रण क्षेत्रमा आत्मनिर्भरतातर्फको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ। अब हुलाक टिकट, नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा, भिसा स्टिकर तथा विश्वविद्यालयका प्रमाणपत्रहरू समेत स्वदेशमै उत्पादन गर्ने आधार तयार भएको केन्द्रले जनाएको छ।
हाल ट्रायल पास गरी राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था लागू भइसकेको छ। केन्द्रका अनुसार वैशाख १२ गतेसम्म १२ लाख र असार मसान्तसम्म थप १७ लाख पुराना लाइसेन्स छपाइ सम्पन्न गरिने लक्ष्य राखिएको छ।




प्रतिकृया