• ३ साउन २०८३, आइतबार
  • ४:४६ बेलुका

वैशाखमा बैंकहरूको ब्याजदर झन् घट्यो

प्रकाशित मिति

२०८२ चैत्र ३० गते, सोमबार १२:४६

३० चैत,२०८२ काठमाडौं – वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर थप घटाएका छन्। उच्च तरलता र न्यून कर्जा प्रवाहको अवस्थाबीच बैंकहरूको ब्याजदर क्रमशः ओरालो लाग्दै गएको हो।

बैंकहरूले हरेक महिनाको मसान्तमा आगामी महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गर्ने क्रममा सोमबार वैशाख महिनाको दर सार्वजनिक गरेका हुन्। चैतको तुलनामा वैशाखमा ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ बैंकले स्थिर राखेका छन्। समग्रमा औसत ब्याजदर घटेको देखिएको छ।

Kamana Sewa

वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा चैतको ४.४९४ प्रतिशतबाट घटेर वैशाखमा ४.४०० प्रतिशत कायम भएको छ, जुन ०.०९४ प्रतिशत बिन्दुले कमी हो। ब्याजदर घटाउने बैंकहरूमा एभरेस्ट बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, एनआईसी एसिया बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल रहेका छन्।

Classic Tech Desktop

त्यस्तै, कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, नेपाल बैंक, एनएमबी बैंक, एसबीआई बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक र सानिमा बैंकले ब्याजदर स्थिर राखेका छन्।

बैंकहरूमा पर्याप्त तरलता रहेको तथा कर्जा प्रवाह सुस्त भएकाले ब्याजदर दबाबमा आएको बैंकिङ क्षेत्रले जनाएको छ। साथै, नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि विभिन्न उपकरणमार्फत प्रणालीबाट पैसा खिच्दै आएको छ।

प्रतिकृया