• ५ असोज २०८३, सोमबार
  • २ः०१ दिउँसो

असारभित्र सबै थाँती लाइसेन्स छाप्ने सरकारको लक्ष्य, साउनदेखि २४ घण्टाभित्रै वितरण गर्ने तयारी

प्रकाशित मिति

२०८२ चैत्र २५ गते, बुधबार ०९:२१

२५ चैत,२०८२ काठमाडौं – सरकारले लामो समयदेखि थाँती रहेका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आगामी असारभित्रै छापिसक्ने लक्ष्य लिएको छ। वर्षौँसम्म ट्रायल पास गरेका सेवाग्राहीले लाइसेन्स नपाउने समस्या समाधान गर्न यातायात व्यवस्था विभाग ले छपाइ कार्यलाई तीव्र बनाएको जनाएको छ। बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि लाइसेन्स छपाइमा उल्लेख्य गति आएको बताइएको छ।

National Life

विभागका महानिर्देशक राजीव पोखरेल का अनुसार हाल दैनिक करिब ४० हजार लाइसेन्स छापिँदै आएका छन्, जुन यसअघिको दैनिक १५ सयदेखि २ हजारको तुलनामा निकै बढी हो। “असार मसान्तसम्म बाँकी सबै लाइसेन्स छापेर वितरण गर्ने लक्ष्य लिएका छौं,” उनले बताए।

हालसम्म करिब ३० लाख लाइसेन्स छाप्न बाँकी रहेको विभागले जनाएको छ। यसलाई समाधान गर्न सरकारले छपाइ क्षमतामा व्यापक वृद्धि गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

लाइसेन्स छपाइको जिम्मा सुरक्षण मुद्रण केन्द्र लाई दिइएको छ। केन्द्रसँग १२ लाख लाइसेन्स छपाइ गर्ने सम्झौता भएकोमा हालसम्म ३ लाख लाइसेन्स छापेर विभागलाई बुझाइसकेको छ भने थप ४ लाख लाइसेन्सका लागि विवरण पठाइएको छ।

यसअघि जेनजी आन्दोलनका क्रममा विभागको डाटा र मेसिनमा क्षति पुगेपछि सरकारले केन्द्रमार्फत छपाइ प्रक्रिया अघि बढाएको थियो। २०८२ कात्तिक २१ मा तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल को उपस्थितिमा छपाइ कार्य सुरु गरिएको थियो।

हाल केन्द्रको मेसिनले प्रतिघण्टा कम्तीमा २५०० लाइसेन्स छाप्न सक्ने क्षमता भए पनि सुरुवाती चरणमा डाटा अभावका कारण अपेक्षित गति लिन सकेको थिएन। यसबीच विभागले आफैं पनि नयाँ मेसिन खरिद गरेर छपाइ प्रक्रिया अघि बढाइरहेको छ। साथै, सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत १०० दिनभित्र घरघरमै लाइसेन्स पुर्‍याउने योजना पनि अघि सारिएको छ।

सरकारको यो पहल सफल भएमा लाइसेन्सका लागि वर्षौँसम्म कुर्नुपर्ने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।

प्रतिकृया