सभामुखमा डीपी अर्याल निर्विरोध
प्रकाशित मिति
२०८२ चैत्र २० गते, शुक्रबार ०३:३५
काठमाडौं — प्रतिनिधिसभाको सभामुख पदमा सांसद डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध भएका छन्। यद्यपि, उनको औपचारिक घोषणा भने आगामी प्रतिनिधिसभा बैठकबाट हुने छ। सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो। उक्त अवधिमा अर्यालको मात्र एकल उम्मेदवारी परेको हो।
प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार यदि एक जनाको मात्रै उम्मेदवारी पर्छ भने, बैठकमा प्रस्तावक र समर्थकले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले उक्त सदस्यलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ। सो घोषणा अब बस्ने आइतबारको प्रतिनिधिसभा बैठकमा गरिनेछ।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिकको बहुमतमा रहेको छ। २७५ सदस्यीय सदनमा रास्वपाका १८२ सांसद छन्। नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेकपा का १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद रहेका छन्। सत्तापक्षको स्पष्ट बहुमतका कारण प्रतिपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी दिएका थिएनन्।

सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। उपसभामुखको निर्वाचन भने सभामुखले तोकेको मिति र समयमा हुनेछ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगका हुनुपर्ने प्रावधान छ। तर, एकल उम्मेदवारी परेको अवस्थामा एउटै दलबाट पनि हुन सक्ने व्यवस्था रहेको उनले बताए।
हाल उपसभामुखको विषयमा दलहरूबीच औपचारिक छलफल सुरु भइसकेको छैन। प्रतिनिधिसभामा रास्वपासहित ६ दल रहेका छन्।
संवैधानिक व्यवस्था अनुसार सभामुखले पदभार सम्हाल्नुअघि राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्छ। त्यसपछि उपसभामुखले राष्ट्रपतिको उपस्थितिमा सभामुख समक्ष शपथ लिनेछन्।
सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्का सदस्य हुने भएकाले उपसभामुख पदमा कुन दलको प्रतिनिधित्व हुन्छ भन्ने विषयलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ। नेपालको संविधानको धारा २८४ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था रहेको छ।




प्रतिकृया