• १ असोज २०८३, बिहीबार
  • १२ः०१ राती

५४ वर्षपछि मानवसहित चन्द्रमातर्फ उडान, ‘आर्टेमिस–२’ सफल प्रक्षेपण

प्रकाशित मिति

२०८२ चैत्र १९ गते, बिहीबार ०९:३१

अमेरिका — अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट नासाले आफ्नो ऐतिहासिक ‘आर्टेमिस-२’ मिसनको सफल प्रक्षेपण गरेको छ। करिब ५४ वर्षपछि मानवसहितको अन्तरिक्ष यान पुनः चन्द्रमातर्फ प्रस्थान गर्दै अन्तरिक्ष अन्वेषणमा नयाँ अध्याय सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

National Life

शक्तिशाली एसएलएस रकेटमार्फत ‘ओरियन’ अन्तरिक्ष यानमा चार जना अन्तरिक्ष यात्रीहरू १० दिने चन्द्र यात्रा सुरु गरेका छन्। टोलीको नेतृत्व कमाण्डर रिड वाइजम्यानले गरिरहेका छन् भने मिसन स्पेसलिस्ट जेरेमी ह्यान्सेन चन्द्रमातर्फ उड्ने पहिलो क्यानेडियन अन्तरिक्ष यात्री बनेका छन्।

प्रक्षेपणअघि सञ्चार प्रणालीमा अवरोध र रकेटको ब्याट्रीमा समस्या देखिएपछि केही समय अनिश्चितता सिर्जना भएको थियो। तर नासाका इन्जिनियरहरूले ती समस्या छोटो समयमै समाधान गरेपछि उडानलाई अनुमति दिइएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

अन्तरिक्ष यान पृथ्वीको कक्षमा पुगेपछि यसको सोलार एरे सफलतापूर्वक खुलेको छ, जसले यानलाई आवश्यक ऊर्जा प्रदान गर्नेछ। यात्राका क्रममा अन्तरिक्ष यात्रीहरूले खण्डग्रास सूर्यग्रहणजस्ता दुर्लभ दृश्य अवलोकन गर्ने अवसर पाउनेछन्।

नासाका प्रशासक जेरेड आइज्याकम्यानले यो मिसनलाई मानवताको साझा उपलब्धि बताएका छन्। साथै अन्तरिक्ष क्षेत्रमा चीनसँगको प्रतिस्पर्धाले नयाँ प्रविधि विकासमा सकारात्मक प्रभाव पार्ने उनले उल्लेख गरेका छन्।

यो १० दिने यात्रामा ओरियन यानले चन्द्रमाको परिक्रमा गरी पृथ्वी फर्कनेछ। करिब २ लाख ३० हजार माइल टाढासम्म पुग्ने यानले चन्द्रमाको पछाडिको भागको फन्को लगाउनेछ। फर्कने क्रममा तीव्र गतिमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरी प्यारासुटमार्फत प्रशान्त महासागरमा अवतरण गर्ने तालिका छ।

हाल अन्तरिक्ष यात्रीहरू सुरक्षित र उत्साहित रहेको नासाले जनाएको छ। बीचमा यानको शौचालयमा सामान्य चेतावनी संकेत देखिए पनि ग्राउण्ड टोलीले समाधानका लागि काम गरिरहेको छ। यो मिसन सफल भएमा आगामी वर्षहरूमा मानवलाई पुनः चन्द्रमाको सतहमा अवतरण गराउने मार्ग खुल्ने अपेक्षा गरिएको छ।

प्रतिकृया