गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाश शर्माका ७ तर्क
प्रकाशित मिति
२०८२ चैत्र ६ गते, शुक्रबार ०४:३९
६ चैत,२०८२ काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्न सात वटा आधार प्रस्तुत गरेका छन्। केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिएको दस्तावेजमा शर्माले छोटो समयमै नेतृत्वको पूर्ण मूल्यांकन गर्न नमिल्ने उल्लेख गर्दै थापाको राजीनामा अस्वीकार गर्न प्रस्ताव अघि सारेका हुन्।
उनले “पचास दिनको छोटो अवधिमा दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत नहुने” तर्क गरेका छन्। शर्माले राजनीतिमा ‘हनिमुन पिरियड’ हुने उल्लेख गर्दै नयाँ नेतृत्वलाई काम गर्ने पर्याप्त समय दिनुपर्ने बताएका छन्। साथै, प्रतिकूल अवस्थाबीच नेतृत्वले पार्टीलाई अनुकूलतामा लैजाने जिम्मेवारीबाट पछि हट्नु संगठनप्रति न्याय नहुने धारणा राखेका छन्।

उनले प्रस्तुत गरेका सात तर्कमा कांग्रेसको नीति विजय भएको, दोस्रो दल भए पनि जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न सकिने, पराजयका बाबजुद पार्टीभित्र ऊर्जा कायम रहेको, विशेष महाधिवेशनले नयाँ ऊर्जा दिएको, बौद्धिक क्षेत्रबाट सकारात्मक समीक्षा आएको, पार्टीभित्र एकता मजबुत बन्दै गएको तथा अब नयाँ संकल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको छ।

शर्माले सभापति थापाको नैतिक जिम्मेवारी लिने भावनाको सम्मान गर्दै पनि वर्तमान परिस्थितिमा राजीनामा अस्वीकार गरी नेतृत्वलाई निरन्तरता दिनुपर्ने निष्कर्ष प्रस्तुत गरेका छन्।




प्रतिकृया