बलात्कारपछि इनिसा विक हत्या, चार नाबालक पक्राउ
प्रकाशित मिति
२०८२ फाल्गुन २६ गते, मंगलवार ०२:३८
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरका चार नाबालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। पक्राउ परेका सबै जना १८ वर्षमुनिका रहेको प्रहरीले जनाएको छ।
पूर्व सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसा फागुन २३ गते मृत अवस्थामा फेला परेकी थिइन्। उनी वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन नजिक बेहोस अवस्थामा भेटिएकी थिइन्। उनलाई तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
इनिसा कक्षा ११ मा अध्ययनरत थिइन्। उनका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार घटनामा संलग्न आशंकामा २३ गते नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो भने थप अनुसन्धानका क्रममा अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ। पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविक कारणबारे थप स्पष्ट हुने बताइएको छ। मृतकका परिवारले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।








प्रतिकृया