एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन थप
प्रकाशित मिति
२०८२ फाल्गुन २५ गते, सोमबार ०९:३५
२५ फाल्गुन,२०८२ काठमाडौं- एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा पर्याप्त आवेदन नपरेपछि आवेदन दिने म्याद थप गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १४ लाख १० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये पहिलो चरणमा ४ लाख ७० हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
उक्त आईपीओमध्ये २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र अर्थात् ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ र ८ का स्थानीय बासिन्दाका लागि खुला गरिएको छ। त्यसैगरी १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नम्बर २ तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ का बासिन्दाले आवेदन दिन सक्नेछन्।
त्यस्तै ९४ हजार कित्ता न्यून प्रभावित क्षेत्र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ र गोकुलगंगा गाउँपालिका वडा नम्बर १ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ४७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सुरुमा फागुन २५ गतेसम्म आवेदन दिने समय तोकिएको भए पनि पर्याप्त आवेदन नपरेकाले म्याद बढाएर चैत १० गतेसम्म कायम गरिएको कम्पनीले जनाएको छ। तर सोभन्दा अघि नै पर्याप्त आवेदन परेमा जुनसुकै समयमा निष्काशन बन्द गर्न सकिने पनि कम्पनीले स्पष्ट पारेको छ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले ओखलढुङ्गास्थित आयोजना कार्यालय, लक्ष्मी सनराइज बैंकका किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको खिजिदेम्बा शाखा तथा सिटिजन्स बैंकको लिखुपिके शाखाबाट आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई “डबल बी माइनस इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।








प्रतिकृया