निर्वाचनका लागि उपत्यकाबाट ८ लाख बाहिरिए
प्रकाशित मिति
२०८२ फाल्गुन २० गते, बुधबार ०५:३४
२० फाल्गुन,२०८२ काठमाडौं – आगामी निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या उल्लेख्य रूपमा बढेको छ । उपत्यका प्रहरी कार्यालयका अनुसार मतदान गर्न तथा गृहजिल्ला फर्किन हालसम्म करिब ८ लाख मानिसले उपत्यका छाडिसकेका छन् ।
निर्वाचनको सुरक्षा र व्यवस्थापनलाई लक्षित गर्दै आज राति १२ बजेदेखि उपत्यकाभित्र सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । निर्वाचन आयोगले जारी गरेको मापदण्डअनुसार अत्यावश्यक सेवामा प्रयोग हुने सवारी साधनबाहेक अन्य निजी तथा सार्वजनिक सवारी पूर्ण रूपमा बन्द रहनेछन् ।

उपत्यकामा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन र सम्भावित दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई सडकमा बाक्लो रूपमा परिचालन गरिएको छ । प्रहरीका अनुसार हालसम्म उपत्यकाको चुनावी वातावरण शान्तिपूर्ण रहेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनको शान्ति–सुरक्षा जिल्ला प्रशासन र सुरक्षा निकायबीच समन्वय गरी व्यवस्थापन भइरहेको र ट्राफिक अवस्था सामान्य रहेको जनाइएको छ ।

सवारी साधन आवतजावतमा रोक लागेकाले सर्वसाधारणलाई आयोगले तोकेको नियमको पालना गर्न र अत्यावश्यक परेमा मात्र अनुमति प्राप्त सवारी साधन प्रयोग गर्न प्रहरी प्रशासनले आग्रह गरेको छ ।




प्रतिकृया