नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न
प्रकाशित मिति
२०८२ माघ २२ गते, बिहीबार १०:००
२२ माघ,२०८२ काठमाडौं – नेपाल टेलिकमले आफ्नो स्थापनाको २२औँ वार्षिकोत्सव बिहीबार विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयसहित देशभरका प्रादेशिक निर्देशनालय तथा कार्यालयहरूमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको हो ।
केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि गृह मन्त्री ओमप्रकाश अर्यालले डिजिटल डिभाइड न्यूनीकरण र ग्रामीण क्षेत्रमा सञ्चार पहुँच विस्तारमा नेपाल टेलिकमको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै सुशासन, नागरिक सेवा र सरकारी पूर्वाधार सुदृढीकरणमा कम्पनीको योगदान महत्वपूर्ण रहेको बताए । सरकारले लिएका नीति तथा कार्यक्रम कार्यान्वयनमा नेपाल टेलिकमले सरकारसँग हातेमालो गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

अध्यक्ष बस्नेतले नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसात गर्दै सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहमा नेपाल टेलिकमले निरन्तर भूमिका खेल्दै आएको उल्लेख गरिन् । उनले टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेसनजस्ता सेवामा थप ध्यान दिनुपर्ने तथा दुर्गम क्षेत्रमा डिजिटल पूर्वाधार विस्तार आवश्यक रहेको बताइन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दक्ष जनशक्तिको सदुपयोग गर्दै नेटवर्क विस्तार र आम्दानी वृद्धि गर्न सकिने सम्भावना औँल्याए । नायब प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले फोरजी सेवा सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीय तहमा विस्तार भइसकेको जानकारी दिँदै फाइभजी सेवा सुरुवातको तयारी अन्तिम चरणमा रहेको बताए ।
२२औँ वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले विभिन्न डाटा, भ्वाइस र एफटीटीएच प्याकेजमा आकर्षक छुट, बोनस डाटा, सिमकार्ड र जडान शुल्कमा सहुलियत घोषणा गरेको छ । साथै, उत्कृष्ट विक्रेता, ठूला ग्राहक र २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।




प्रतिकृया