कांग्रेस महामन्त्री पौडेलद्वारा १५ बुँदे आर्थिक सुधार धारणा सार्वजनिक
प्रकाशित मिति
२०८२ माघ २२ गते, बिहीबार १२:१३
२२ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देशको अर्थतन्त्र सुधारका लागि १५ बुँदे धारणा सार्वजनिक गरेका छन्। कांग्रेस अब केवल सपना देखाउने मात्र नभई नतिजामा बदल्ने ‘अपेरेटिङ सिस्टम’ नै परिवर्तन गर्ने संकल्पसहित अघि बढेको उनले बताएका छन्।
भिडियो वक्तव्यमार्फत् पौडेलले वितरणमुखी र परनिर्भर अर्थतन्त्रबाट मुलुकलाई उत्पादनमुखी, आत्मनिर्भर र बचतयुक्त अर्थतन्त्रमा लैजानुपर्नेमा जोड दिएका छन्। उनले व्यक्तिवादी राजनीतिको साटो संस्थागत र बलियो प्रणाली निर्माण हुनुपर्ने धारणा राखेका छन्।
उनले ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने भन्दै परम्परागत श्रम र पसिनाको निर्यातबाट हटेर बौद्धिक पुँजी र ज्ञानको निर्यातमा केन्द्रित हुनुपर्ने बताएका छन्। प्रविधिको प्रयोगमार्फत साना उद्यमी, युवा र दुर्गम क्षेत्रका प्रतिभालाई सिधै विश्व बजारसँग जोडेर अवसरको लोकतंत्रीकरण गर्नुपर्ने उनले बताए।
आर्थिक विकासमा कानुनी अड्चन एक प्रमुख कारक भएको भन्दै पौडेलले दोस्रो चरणको आर्थिक सुधार र कानुनी पुनर्जागरणका लागि सर्वोच्च छाता ऐनमार्फत विकास र लगानीमा बाधक रहेका दर्जनौँ झन्झटिला ऐनहरू फेर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
मन्त्रालयहरूबीच समन्वय अभाव र प्रशासनिक ढिलासुस्तीले अर्थतन्त्रको गतिमा बाधा पुर्याएको भन्दै उनले फास्ट ट्रयाक सेवामार्फत समयबद्ध कार्यविधि लागू गर्नुपर्ने बताए।
२१औँ शताब्दीको लोकतान्त्रिक समाजवादको आवश्यकता औंल्याउँदै पौडेलले समाजवादले कसैको प्रगतिमा बाधा नपुर्याई, गरिबी र अभावको खाडलमा नपरेको सुनिश्चित गर्न बलियो सुरक्षा प्रणाली आवश्यक रहेको तर्क गरे।
उनले आर्थिक कूटनीति र भू–आर्थिक पुलको अवधारणालाई पनि अघि सार्दै वैदेशिक सहायता र अनुदानलाई लगानीतर्फ लैजानुपर्ने र विदेशी सहायता मात्रमा निर्भर रहँदै नबसेर व्यापार तथा लगानी भित्र्याउने कूटनीति अपनाउनुपर्ने बताए।








प्रतिकृया