• ४ साउन २०८३, सोमबार
  • ८:०२ बेलुका

काठमाडौँ महानगरपालिकाले माघ १० देखि सहिद सप्ताहका कार्यक्रम सुरु गर्ने

प्रकाशित मिति

२०८२ माघ ८ गते, बिहीबार ०९:४६

८ माघ,२०८२ काठमाडौं – काठमाडौँ महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद सप्ताहका कार्यक्रम सुरु गर्ने भएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले सहिद सप्ताहका कार्यक्रम सार्वजनिक गरेको हो।

बैठकले विसं १९९७ मा प्राणदण्ड पाएका सहिदहरूले सहादत प्राप्त गरेको दिन र स्थानमा श्रद्धाञ्जली सभा आयोजना गर्ने तथा माघ १६ गते लैनचौरस्थित सहिद स्मारक पार्कमा ज्ञात–अज्ञात सबै सहिदको सम्झनामा स्मृतिसभा गर्ने निर्णय गरेको छ।

Kamana Sewa

नागरिक स्वतन्त्रताका लागि सहादत प्राप्त गर्ने सहिदहरूको सम्मानमा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाइँदै आएको छ। सहिद सप्ताहको पहिलो दिन माघ १० गते टेकु मचलीमा कार्यक्रम हुनेछ भने माघ १३ गते सिफल उकालो र माघ १५ गते शोभा भगवतीमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ।

Classic Tech Desktop

माघ १६ गते शान्ति बाटिकाबाट प्रभातफेरी निकालेर लैनचौर सहिद स्मारक स्तम्भमा पुगेर स्मृतिसभा आयोजना गरिने महानगरपालिकाले जनाएको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ। कार्यक्रम आयोजना हुने स्थलसँग सम्बन्धित वडालाई व्यवस्थापनको जिम्मेवारी दिइएको छ।

विसं १९९७ माघ ७ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँच जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो। पछि पूर्णनारायण प्रधानको सजाय आजीवन कैदमा रूपान्तरण गरिएको थियो।

नागरिक स्वतन्त्रताको पक्षमा निर्भिक रूपमा आवाज उठाएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले मृत्युदण्ड पाएपछि उनीहरूको सपना र बलिदानको स्मरणमा सहिद दिवस तथा सहिद सप्ताह मनाउने परम्परा सुरु गरिएको हो।

शुक्रराज शास्त्रीलाई माघ १० गते टेकु मचलीस्थित खरिबोटमा, धर्मभक्त माथेमालालाई माघ १३ गते सिफल उकालोमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो। त्यस्तै माघ १५ गते शोभा भगवती किनारामा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हानी हत्या गरिएको थियो।

प्रतिकृया