आज देशभर प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
प्रकाशित मिति
२०८२ माघ ६ गते, मंगलवार ०९:५२
६ माघ,२०८२ काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुने छ।
उम्मेदवारी दर्ताका लागि उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। साथै कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक पर्ने आयोगले जनाएको छ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै पनि तडकभडक नगर्न, शान्त र मर्यादित ढंगले निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरेको छ। भीडभाड कम गर्ने र प्रक्रिया सहज बनाउन आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारका लागि उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको जनाएको छ।
यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ। कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० सदस्य समानुपातिक प्रणालीबाट र १६५ सदस्य प्रत्यक्ष प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ। निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोट प्रक्रिया सुरु भइसकेको छ।
अधिकांश राजनीतिक दलहरूले उम्मेदवार छनोट गरिसकेका छन् भने बाँकी दलहरूले पनि आज बिहानसम्म उम्मेदवार टुंग्याउने जनाएका छन्। नेपाली कांग्रेसले केही निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट प्रक्रिया जारी रहेको बताएको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट पूरा गरिसकेको जनाएको छ। एमाले, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूले उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन्।
निर्वाचन आयोगले निर्वाचनका सबै तयारी पूरा भइसकेको उल्लेख गर्दै आज देशभर उत्साहपूर्ण रूपमा उम्मेदवारी मनोनयन प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरेको छ। विसं २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो।








प्रतिकृया