नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि, संस्थापन पक्ष अनुपस्थित
प्रकाशित मिति
२०८२ पुष २७ गते, आईतवार ०९:१४
२७ पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ। आज र भोलि दुई दिनसम्म सञ्चालन हुने विशेष महाधिवेशनमा पार्टीको संस्थापन पक्ष सहभागी नहुने भएको छ। आयोजकका अनुसार विशेष महाधिवेशन आज दिउँसो १ बजे उद्घाटन हुनेछ।
उद्घाटनअघि विभिन्न पाँच स्थानबाट जुलुस निकालिने जनपरिचालन समितिले जनाएको छ। विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरू बिहान ११ बजे सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमल पोखरी र कुपण्डोलमा भेला भई जुलुससहित भृकुटीमण्डप पुग्ने कार्यक्रम तय गरिएको छ।
संस्थापन पक्षले आफ्ना प्रस्तावलाई बेवास्ता गरेपछि विशेष महाधिवेशन आयोजना गरिएको विशेष महाधिवेशन पक्षधरहरूको दाबी छ। महाधिवेशनमा कुन–कुन केन्द्रीय नेताहरू सहभागी हुन्छन् भन्ने विषयलाई लिएर चासो बढेको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएमा नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाउने र बहुमत नपुगे नीतिगत निर्णय गर्दै विशेष महाधिवेशन टुंग्याउने रणनीति बनाएका छन्।
संस्थापन पक्षका वरिष्ठ नेता गोपालमान श्रेष्ठले विशेष महाधिवेशनमा सहभागी हुने बताएका छन्। साथै पार्टी एकताको पक्षमा वकालत गर्दै आएका डा. चन्द्र भण्डारी, डा. सुनिल शर्मालगायतका नेताहरू पनि सहभागी हुने आयोजकले जनाएको छ।
यद्यपि कांग्रेसका पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापतिले विशेष महाधिवेशनको विपक्षमा धारणा सार्वजनिक गरेका छन्। तर आयोजक पक्षले कुल ४ हजार ७३४ महाधिवेशन प्रतिनिधिमध्ये ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी गरेको छ।
बहुमत महाधिवेशन प्रतिनिधिबाट नयाँ नेतृत्व चयन भएमा कांग्रेसको आन्तरिक विवाद कानुनी प्रक्रियामा जान सक्ने अनुमान पनि गरिएको छ।








प्रतिकृया