महासंघका अध्यक्ष ढकाल र यूएई सचिवबीच भेटवार्ता,के–के विषयमा भयो छलफल?
प्रकाशित मिति
२०८२ पुष २३ गते, बुधबार ०२:५१
२३ पुस,२०८२ काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) को वित्त मन्त्रालयका सचिव महामहिम अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल–यूएईबीचको द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।
यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा सम्पन्न भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल–यूएई आर्थिक सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक लाभका साझेदारीहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सो अवसरमा महासंघ अध्यक्ष ढकालले नेपालमा रहेको लगानी सम्भावनाबारे जानकारी गराउँदै निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए। उनले जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, ठूला पूर्वाधार तथा सूचना प्रविधि (आईटी) जस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तार गर्न सकिने बताए। साथै काठमाडौँका लागि एमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडान सुरु हुनु पर्यटन, व्यापार र समग्र व्यावसायिक आवागमन विस्तारका लागि महत्वपूर्ण हुने उल्लेख गरे।
यूएई वित्त मन्त्रालयका सचिव अल सालेहले नेपालले प्रस्तुत गरेका परियोजना र अवसरहरूप्रति यूएई पक्षको चासो रहेको बताउँदै निजी क्षेत्रबीचको सहकार्य बढाउन सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। दुवै पक्षले सहकार्यलाई अझ गहिरो बनाउँदै ठोस परिणामतर्फ अघि बढ्ने साझा प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
भेटका क्रममा अल सालेहले सन् २०१८ मा आफूले नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपालको आतिथ्यता र नेपाली खानाले आफूलाई मोहित बनाएको प्रतिक्रिया दिएको जानकारी अध्यक्ष ढकालले दिएका छन्।







प्रतिकृया