• ४ साउन २०८३, सोमबार
  • १:४९ बिहान

बुटवल–लमही ४०० केभी लाइन निर्माणको तयारी, प्राधिकरणको सुझाव आह्वान

प्रकाशित मिति

२०८२ पुष २० गते, आईतवार ०९:५२

२० पुस,२०८२ काठमाडौं —नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल–लमही ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल १६१ किलोमिटर लामो उक्त प्रसारण लाइन पूर्वी नेपालको विद्युत् पश्चिम क्षेत्रमा प्रवाह गर्न तथा गण्डकी करिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् प्रवाहका लागि निर्माण गर्न लागिएको हो ।

प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा सो आयोजना कार्यान्वयन गरिनेछ । प्रसारण लाइन प्रभावित क्षेत्रमा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दै स्थानीयवासी तथा सरोकारवालाबाट आवश्यक सुझाव र सल्लाह माग गरिएको छ ।

Kamana Sewa

४०० केभी क्षमताको सो प्रसारण लाइनका लागि ४६ मिटर क्षेत्राधिकार तोकिएको छ, जसअनुसार केन्द्ररेखाबाट दायाँ २३ मिटर र बायाँ २३ मिटर क्षेत्राधिकार कायम हुनेछ । प्रसारण लाइनमा कुल ४०५ वटा टावर निर्माण गरिने छन् । साथै, दाङको लमही नगरपालिका–९ स्थित रिहारमा ४००/२२०/१३२/३३/११ केभी क्षमताको सबस्टेशन निर्माण गरिने योजना छ ।

Classic Tech Desktop

प्राधिकरणले वातावरणीय अध्ययनका क्रममा आयोजनाले सो क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीमा पार्ने सम्भावित प्रभावको पहिचान गरिने जनाएको छ । आयोजनाबाट पर्न सक्ने प्रभावबारे आवश्यक जानकारी, राय, सुझाव तथा सल्लाह दिन प्रभावित क्षेत्रका बासिन्दा र सरोकारवालालाई आग्रह गरिएको छ ।

वातावरणीय प्रस्तावसम्बन्धी राय, सुझाव तथा सल्लाह नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्ग तथा परामर्शदाता एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड, ललितपुरमा उपलब्ध गराउन सकिने प्राधिकरणले जनाएको छ ।

प्रतिकृया