प्रचण्ड आज किन जाँदै नयाँदिल्ली ?
प्रकाशित मिति
२०८२ पुष २० गते, आईतवार ०९:३७
२० पुस,२०८२ काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरू समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रा हो ।
तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादीलगायत दलनिकट प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लागेको उनको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
“एक महिना अघि नै तय भएको सन्देश सभा कार्यक्रम हो, त्यही कार्यक्रमलाई सम्बोधन गर्न उहाँ दिल्ली जान लाग्नुभएको हो,” आचार्यले बताए ।

सन्देश सभालाई सम्बोधन गरेपछि प्रचण्ड सोमबार नै स्वदेश फर्किने कार्यक्रम रहेको पनि आचार्यले जानकारी दिए । “आज साँझ दिल्ली पुगेर भोलि साँझ फर्किने कार्यक्रम छ,” उनले भने ।

फागुन २१ गते हुन लागेको निर्वाचनलाई ध्यानमा राख्दै प्रचण्डको दिल्ली यात्रालाई कतिपयले चासोका साथ हेरेका छन् । तर, दिल्ली बसाइका क्रममा सन्देश सभालाई सम्बोधन गर्ने बाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम नरहेको प्रचण्डको सचिवालयले स्पष्ट पारेको छ ।




प्रतिकृया