निर्वाचन नै देशलाई निकास दिने एकमात्र विकल्प : प्रचण्ड
प्रकाशित मिति
२०८२ पुष १४ गते, सोमबार ०९:४७
१४ पुस,२०८२ काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिबाट देशलाई निकास दिने एकमात्र उपाय निर्वाचन भएको बताएका छन्। पूर्वनिर्धारित मितिमा निर्वाचन गराउने बाहेक अन्य विकल्पबारे सोच्न नहुने उनको भनाइ छ।
आज बिहान बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो देशलाई निकास दिने अब निर्वाचनमात्रै सबैभन्दा राम्रो विकल्प हो। अन्य विकल्पतिर सोचियो भने फेरि देश अर्को दुर्घटनामा पर्न सक्छ।’
उनले निर्वाचनमार्फत नै देशलाई स्थिरता र विकासको नयाँ प्रक्रियामा लैजान सकिने उल्लेख गरे। सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुने वातावरण बनेको दाबी गर्दै उनले तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिए।
फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने तयारी भइरहेको प्रसंग उल्लेख गर्दै प्रचण्डले त्यसले आफूलाई खुसी बनाएको बताए।
कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता विषय राज्यको दायित्वभित्र पर्नुपर्ने र अन्ततः ती सेवाहरू नि:शुल्क हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको स्पष्ट पारे। ‘आउँदा दिनमा त्यसको निम्ति हामी आफ्नो ठाउँबाट निरन्तर प्रयास गर्नेछौं,’ उनले भने।








प्रतिकृया