• १ असोज २०८३, बिहीबार
  • ११ः४३ बिहान

रास्वपामा समानुपातिक उम्मेदवारका लागि आन्तरिक मतदान सुरु

प्रकाशित मिति

२०८२ पुष १२ गते, शनिबार ०८:४७

१२ पुस,२०८२ काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका उम्मेदवार छनोटका लागि आज बिहान ७ बजेदेखि आन्तरिक मतदान सुरु गरेको छ। मतदान आइतबार साँझ ७ बजेसम्म चल्नेछ।

National Life

रास्वपाले आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फका ११० उम्मेदवार छनोट गर्न गत कात्तिक २२ गतेदेखि प्रक्रिया थालेको थियो। समानुपातिक उम्मेदवार बन्न ३८० जनाले आवेदन दिएका छन्। उनीहरूको ब्लुप्रिन्ट र शून्य समयमा प्रस्तुति सम्पन्न भएपछि आन्तरिक मतदानमा जान लागिएको हो। मतदानका लागि कुल ३६ घण्टाको समय निर्धारण गरिएको छ।

पार्टीले खसआर्य, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी र थारू गरी ६ क्लस्टर बनाएर मतदान गरिरहेको छ। यसअनुसार खसआर्यबाट ३३ जना, आदिवासी जनजातिबाट ३२ जना, मधेसीबाट १८ जना, दलितबाट १५ जना, थारूबाट ८ जना र मुस्लिमबाट ५ जना उम्मेदवार चयन गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

आन्तरिक मतदानमा एक मतदाताले अधिकतम ११० जनासम्मलाई मत दिन सक्ने व्यवस्था गरिएको छ। साथै न्यूनतम ५७ जना महिला उम्मेदवारलाई मत दिन अनिवार्य गरिएको छ। कुनै पनि क्लस्टर खाली छोड्न नपाइने र प्रत्येक क्लस्टरमा कम्तीमा १० प्रतिशत मतदान गर्नैपर्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।

यसअघि पनि रास्वपाले उम्मेदवार छनोटका लागि प्राइमरी इलेक्सन गराइसकेको छ। नेपालका अन्य दलभन्दा फरक अभ्यास भए पनि यस प्रक्रियाको पारदर्शितामाथि भने प्रश्न उठ्दै आएको छ। उम्मेदवारले प्राप्त गरेको मत र कुल मतदान विवरण सार्वजनिक नगर्ने परम्पराका कारण आलोचना हुने गरेको छ।

यस्तै, काठमाडौं महानगरका प्रमुख बालेन शाह, कुलमान घिसिङ तथा जेन–जी समूहहरूसँग सहकार्यको प्रयास जारी रहेकाले हालको प्रक्रियाबाट कति जना उम्मेदवार अन्ततः चयन हुन्छन् भन्ने विषय अझै अनिश्चित रहेको बताइएको छ।

प्रतिकृया