प्राविधिक कारणले एमाले नेतृत्व चयनको मतदान भोलि बिहानसम्म स्थगित
प्रकाशित मिति
२०८२ पुष १ गते, मंगलवार १०:११
१ पुष,२०८२ काठमाडौं— नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि तय गरिएको मतदान आज सम्पन्न हुन सकेन। निर्वाचन कार्यतालिकाअनुसार आज मतदान हुने भए पनि प्राविधिक समस्या तथा स्थल व्यवस्थापनका कारण मतदान प्रक्रिया भोलि बिहान ८ बजेदेखि सुरु हुने भएको हो।
मतदानका लागि प्रतिनिधिहरू साँझ ७ बजेदेखि नै मतदान स्थलमा लाइनमा बसेका थिए। अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल पनि मतदानका लागि हलमा उपस्थित भएका थिए।
सवा ८ बजे महासचिव शंकर पोखरेलले मतदान स्थगित भएको जानकारी दिँदै प्राविधिक कारणले मतदान प्रक्रिया सुरु गर्न नसकिएको बताए। चिसो मौसमका कारण लामो समयसम्म प्रतिक्षा गर्न कठिन भएकाले मतदान भोलिसम्म सारिएको उनको भनाइ थियो।
एमालेले यसपटक इलेक्ट्रोनिक भोटिङ प्रणाली प्रयोग गर्न लागेको छ। मेसिन जडानको काम सकिए पनि उम्मेदवारको नाम, मतदाता नामावली तथा क्लस्टरसम्बन्धी डाटा समायोजनमा समय लागेकाले आज मतदान हुन नसकेको प्राविधिक पक्षले जनाएको छ।
प्राविधिक लक्ष्मण रिमालका अनुसार ‘डाटा फिटिङ’को काम समयमै नसकिँदा मतदान प्रक्रिया प्रभावित भयो। साथै, आज प्रयोग गरिएको हल भोलि खाली गर्नुपर्ने भएकाले अर्को हलमा मेसिन सारेर मतदान गरिने तयारी गरिएको छ।
मतदानका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिनेछ। रामलक्ष्मण इनोभेसन प्रालिले निर्माण गरेको विद्युतीय मेसिनमार्फत कूल २ हजार २६३ प्रतिनिधिले मतदान गर्नेछन्।
एमाले अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा छन्।








प्रतिकृया