• १८ असोज २०८३, आइतबार
  • ४ः२२ बिहान

एमाले महाधिवेशनमा आज अन्तिम मतदाता नामावली सार्वजनिक

प्रकाशित मिति

२०८२ मंसिर २९ गते, सोमबार ०९:०३

मंसिर २९,२०८२ काठमाडौं— काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ। सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार आज बिहान सवा १० बजे मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ।

National Life

त्यसपछि दिउँसो १:३० बजेसम्म नेतृत्व चयनका लागि उम्मेदवारहरूको दरखास्त फारम दर्ता गर्ने कार्यतालिका छ। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार उम्मेदवारहरूको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिनेछ।

प्रारम्भिक नामावली सार्वजनिक भएपछि दिउँसो साढे २ बजेदेखि ३ बजेसम्म उजुरी दर्ता गर्ने समय तोकिएको छ। उजुरीमाथि आवश्यक जाँचबुझ प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

निर्वाचन कार्यतालिकाअनुसार पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान हुने कार्यक्रम छ।

यद्यपि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरे पनि शीर्ष तहमा सहमतिको प्रयास जारी छ। अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू अध्यक्षमा ओलीलाई निरन्तरता दिने र अन्य पदमा निर्वाचन गराउने पक्षमा देखिएका छन्।

एमालेको एघारौं राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीमा मंसिर २७ गते उद्घाटन भएको थियो। महाधिवेशनको बन्दसत्र मंसिर २८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ।

बन्दसत्र सुरु हुनुअघि बसेको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले भदौमा सम्पन्न विधान महाधिवेशनका केही निर्णय उल्ट्याएको थियो। बैठकले अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ।

यसैगरी केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरो सदस्य संख्याको एक तिहाइ स्थायी कमिटी गठन गर्ने निर्णयसमेत गरिएको छ।

प्रतिकृया