• २० असोज २०८३, मंगलबार
  • ५ः३४ बिहान

एमाले महाधिवेशन : अध्यक्ष ओलीको एकीकृत प्रस्तावका बीच ईश्वर पोखरेलले ल्याए पृथक राजनीतिक प्रस्ताव

प्रकाशित मिति

२०८२ मंसिर २२ गते, सोमबार ११:२४

मंसिर २२, २०८२ काठमाडौं— आगामी मंसिर २७ देखि सुरु हुने नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष पदका संभावित उम्मेदवार ईश्वर पोखरेलले आफ्नै पृथक राजनीतिक प्रस्ताव तयार पारेका छन्। अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा आफ्नोबाहेक अन्य प्रस्तावमा छलफल नहुने संकेत दिइरहेका बेला पोखरेलको दस्तावेज पार्टीभित्र नयाँ बहसको विषय बनेको छ।

National Life

पोखरेलले तयार पारेको प्रस्ताव आजै अध्यक्ष ओलीसमक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। “आज अध्यक्ष ओलीसँग आफ्ना प्रस्तावबारे पोखरेलको छलफल हुँदैछ,” एक नजिकका नेताले भने, “प्रस्ताव पूर्ण रूपमा तयार भइसकेको छ। पहिले अध्यक्षलाई देखाउने र त्यसपछि महाधिवेशनमा औपचारिक रूपमा पेस गर्ने तयारी छ।”

पोखरेलको प्रस्तावमा जेन–जी आन्दोलनअघि र पछिको राजनीतिक परिस्थितिको विश्लेषण, पार्टीको पुनर्गठन र लोकतान्त्रीकरण, वर्तमान सन्दर्भमा पार्टीले अपनाउनुपर्ने नीति, देशको आर्थिक–राजनीतिक निकास, युवा पुस्ताको मनोविज्ञान, तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिक मूल्यांकन समेटिएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उनको समूह भदौ २३ पछि देखिएको राजनीतिक परिवर्तनको गम्भीर मूल्यांकन आवश्यक रहेको तर्क गर्छ। उनीहरूका अनुसार हालका घटनाक्रमले एमालेलाई नयाँ कार्यदिशा अपनाउनुपर्ने आवश्यकता देखिएको छ, तर अध्यक्ष ओली उक्त धारणा स्वीकार्न इच्छुक छैनन् भन्ने आरोप पनि पोखरेल पक्षले लगाउँदै आएको छ।

यसअघि भदौ २०–२२ गते सम्पन्न विधान महाधिवेशनले राजनीतिक, सांगठनिक तथा विधान संशोधनसम्बन्धी प्रतिवेदन पारित गरेको थियो। तर ती दस्तावेजमा अझै संशोधन र विस्तृत छलफल आवश्यक रहेको मत पोखरेल समूहले व्यक्त गर्दै आएको छ।

महाधिवेशन नजिकिंदै गर्दा एमालेभित्र प्रस्ताव र दृष्टिकोणको बहस तीव्र बन्दै गएको छ।

प्रतिकृया