प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक
प्रकाशित मिति
२०८२ मंसिर १९ गते, शुक्रबार ०१:३५
मंसिर १९, २०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज अपरान्ह ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक बस्दैछ। बैठकमा विघटित प्रतिनिधि सभाका पाँच दल, निर्वाचन आयोगका पदाधिकारी तथा चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्ष्य गर्दै निर्वाचनको वातावरण निर्माणबारे प्रधानमन्त्रीले प्रमुख सरोकारवालासँग छलफल गर्न लागेकी हुन्। छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दोस्रो तहका नेताहरू सहभागी हुनेछन्।
प्रधानमन्त्रीले यसअघि गरेको छलफलमा पनि ठूला दलहरूले दोस्रो तहका नेताहरू नै प्रतिनिधि पठाएका थिए। आजको बैठकमा मन्त्रीहरू समेत सहभागी हुने सचिवालयले बताएको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ भने सरकारले पनि निरन्तर छलफलमार्फत तयारी अघि बढाइरहेको छ। तर नेकपा एमालेले भने निर्वाचन तोकिएको मितिमा सम्भव हुनेबारे अझै शंका व्यक्त गर्दै आएको छ।







प्रतिकृया