नेपाली कांग्रेसको बैठक सकियो, के आयो निर्णय ?
प्रकाशित मिति
२०८२ मंसिर ६ गते, शनिबार ०४:४१
मंसिर ६, २०८२ काठमाडौं — नेपाली कांग्रेसको लामो समयदेखि चल्दै आएको केन्द्रीय समितिको बैठक शनिबार सानेपामा सकिएको छ । महाधिवेशन सम्बन्धी महत्वपूर्ण एजेन्डा रहे पनि बैठकले यसबारे कुनै ठोस निर्णय गर्न सकेन । बैठकपछि पार्टीका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्नु अब निर्विकल्प भएको बताए ।
उनका अनुसार आवधिक अधिवेशन गर्ने समय गुज्रिसकेकाले मंसिर २७–२८ गतेतिर विशेष महाधिवेशन गर्नुपर्ने आवश्यकता रहेको छ । उनले आगामी निर्वाचनअघि महाधिवेशन गर्नु अनिवार्य भएको स्पष्ट पारे । थापाका अनुसार नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । साथै, निर्वाचनमा भाग नलिने भनिरहेका दलहरूसँग संवाद गरी सहभागी गराउने पहल कांग्रेसले गर्ने बताइयो ।
“फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेस सहभागी हुन्छ,” उनले भने, “निर्वाचनमा नआऊँला भनेका दललाई पनि संवादमार्फत ल्याउन हरसम्भव प्रयास गर्छौँ । सरकारलाई पनि राजनीतिक दलले निर्वाध रूपमा गतिविधि गर्न पाउनु पर्ने विषयमा खबरदारी गरिन्छ ।” उनका अनुसार देशको जटिल अवस्थाबाट निस्कन फागुन २१ को निर्वाचन नै एकमात्र विकल्प हो । महामन्त्री थापाले विशेष महाधिवेशन अब अपरिहार्य भएकाले मंसिर अन्त्यतिर सम्पन्न गर्नुपर्ने बताए । “उत्तेजनाको नेतृत्व एउटा दलले गरिरहेको छ भने शान्तिको नेतृत्व नेपाली कांग्रेसले गर्छ,” उनले भने ।








प्रतिकृया