प्रशासनसँग सहमतिपछि बारामा जेनजी आन्दोलन फिर्ता
प्रकाशित मिति
२०८२ मंसिर ५ गते, शुक्रबार ०८:५५
मंसिर ५, २०८२ काठमाडौं — बाराको सिमरा क्षेत्रमा पछिल्लो तीन दिनदेखि जारी तनाव अन्त्य हुने भएको छ। बुधबारदेखि आन्दोलनमा उत्रिएका जेनजी युवाहरू स्थानीय प्रशासनसँगको छलफलपछि शुक्रबार सबै कार्यक्रम फिर्ता लिन सहमत भएका हुन्।
शुक्रबार पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक शिक्षालयमा प्रशासन र जेनजी प्रतिनिधिबीच वार्ता भएको थियो। वार्ताका क्रममा स्थानीय प्रशासनले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्ने आश्वासन दिएको जेनजी युवाहरूले बताएका छन्।
जेनजी बाराका संयोजक सम्राट उपाध्यायका अनुसार नेकपा एमालेका कार्यकर्ताबाट आफूहरूमाथि आक्रमण भएको दाबी गर्दै दोषीलाई कारबाही गर्ने, घाइतेहरूको उपचारमा समन्वय गर्ने र जेनजी युवाहरूको सुरक्षाको ग्यारेन्टी गर्ने जस्ता विषयमा प्रमुख जिल्ला अधिकृतको मौखिक प्रतिबद्धता आएपछि आन्दोलन स्थगित गरिएको हो।
‘हामी प्रमुख जिल्ला अधिकारीको प्रतिबद्धता सुनेर ब्याक भएका छौँ, लिखित सहमति गरिएको छैन,’ उपाध्यायले भने।
स्थानीय प्रशासनका अनुसार सहमतिका बुँदाहरू कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाइने र स्थानीय शान्ति–सुरक्षा सुनिश्चित गरिने बताइएको छ।








प्रतिकृया