सिमराको तनावबीच बाराका सीडीओको जेनजी युवालाई वार्ताको आह्वान
प्रकाशित मिति
२०८२ मंसिर ४ गते, बिहीबार ०२:२८
मंसिर ४, २०८२ बारा — बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्रले सिमरामा जारी आन्दोलनकाबीच जेनजी समूहका युवाहरूसँग वार्ताको पहल गरेका छन्। सिमराको अवस्था झन् जटिल बन्दै गएपछि सीडीओ मिश्रले जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेका हुन्।
‘संवादबाटै समाधान खोज्नुपर्छ भनेर बाराका सीडीओले टेलिफोन गर्नु भएको छ । उहाँले हामीलाई जिल्ला प्रशासन कार्यालयमा बोलाउनु भएको थियो। हामीले त्यहाँ जान सक्ने अवस्था छैन, तपाईंहरू यहाँ आउनुस् भनेका छौं,’ जेनजी अगुवा उपाध्यायले बताए।
उपाध्यायका अनुसार प्रहरीको लाठीचार्जबाट धेरै युवा घाइते भएकाले सीडीओ कार्यालयतर्फ जाँदा भीड त्यतै केन्द्रित भई थप जोखिम बढ्न सक्ने अवस्था छ। त्यसैले आफूहरू इलाका प्रहरी कार्यालय सिमरामा नै वार्ता गर्न तयार रहेको उनकाे भनाइ छ।
जेनजी प्रदर्शनकारीहरूले पनि वार्ता इलाका प्रहरी कार्यालय सिमरामा नै हुनुपर्ने अडान दोहोर्याएका छन्। स्थानीय प्रशासकीय निकाय र सुरक्षा निकायहरू परिस्थिति नियन्त्रणमा ल्याउन प्रयासरत छन्।








प्रतिकृया