• २० असोज २०८३, मंगलबार
  • ८ः०३ बिहान

गृहमन्त्रीको राजीनामाको मागसहित सुदन गुरूङ सडकदेखि सामाजिक सञ्जालसम्म सक्रिय

प्रकाशित मिति

२०८२ मंसिर ४ गते, बिहीबार ०९:४०

मंसिर  ४, २०८२ काठमाडौं – ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध सामाजिक सञ्जालमार्फत कडा विरोध अभियान सुरु गरेका छन्। पछिल्ला दिनमा लगातार रूपमा तीव्र हुँदै गएको अभियानको केन्द्रबिन्दु गृहमन्त्री अर्यालको राजीनामा माग रहेको छ।

National Life

गुरूङले फेसबुकमा एउटा पोस्टर शेयर गर्दै “मौनतालाई कमजोरी नठान्नू : जनआन्दोलनको ज्वालामुखी उठ्दैछ” भन्दै गृहमन्त्रीलाई राजीनामा माग गरेका छन्। उनले सार्वजनिक गरेको पोस्टरमा अर्यालविरुद्ध तीनवटा ह्यासट्याग पनि उल्लेख छन्।

यसअघि पनि गुरूङले सामाजिक सञ्जालमै गृहमन्त्री अर्यालको ‘लाचारीपन’ले बारामा बुधबार जेनजीमाथि कुटपिट भएको आरोप लगाएका थिए। उनले फेसबुकमा लेखेका थिए, “गृहमन्त्रीले आन्दोलनको म्यान्डेट, सडकमा बगेको रगत र जेनजी भाइबहिनीहरूको बलिदान बिर्सिएको देखेर लाज पनि लजाइसक्यो।”

Classic Tech Mobile
Classic Tech Desktop

गुरूङले गृहमन्त्रीले राजीनामा नदिए आंदोलनात्मक कदम अघि बढाउने चेतावनीसमेत दिएका छन्। “भ्रष्टाचारी र हत्याराहरूलाई समात्न नसक्ने, देशका लागि लड्नेहरू माथि कुटपिट हुँदा कानमा तेल हालेर बस्ने, उल्टै देशप्रेमीहरूलाई पक्राउ गर्ने गृहमन्त्रीले राजीनामा नदिए ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान चलाउनेछु,” उनले लेखेका छन्।

सुदन गुरूङले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा दमन गर्ने व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आएका छन्। तर माग बेवास्ता गरिएको भन्दै उनी पछिल्ला दिनमा गृहमन्त्रीविरुद्ध झनै आक्रामक बनेका छन्।

एक दिनअघि मात्रै उनले अर्को कडा स्टाटस लेख्दै प्रश्न गरेका थिए, “आफूलाई संविधानविद भन्ने गृहमन्त्रीज्यू, संविधानको कुन धारामा ‘सानालाई ऐन र ठुलालाई चैन’ लेखिएको छ ? विधिको शासन लागू नहुने हो भने पुरानो शासन र अहिलेकोमा के फरक ?”

गुरूङको निरन्तर दबाबपछि अब गृहमन्त्री अर्याल पक्षबाट के प्रतिक्रिया आउँछ भन्ने चासो बढेको छ।

प्रतिकृया