• २० भदौ २०८३, शनिबार
  • १२ः०७ राती

गुरुङको प्रधानमन्त्रीसँग प्रश्न: सम्पत्तिको आधा राज्यलाई दिन तयार छु, तर ममाथि किन बारम्बार आक्रमण ?

प्रकाशित मिति

२०८२ आश्विन ५ गते, आईतवार १०:०४

असोज ५, २०८२ काठमाडौं– भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले पछिल्ला घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आक्रोश पोखेका छन्।

National Life

प्रधानमन्त्री कार्की र अर्थमन्त्री रामेश्वर खनालसँगको भेटमा गुरुङले, “राज्यलाई आवश्यक परे मेरो सम्पत्तिको आधा भाग दिन तयार छु, तर ममाथि पटक–पटक किन आक्रमण भइरहेको छ?” भनी प्रश्न गरेका हुन्।

गुरुङले हालै भाटभटेनीमा भएको आगजनी र त्यसबाट भएको क्षतिको विवरण सरकारलाई बुझाउँदै व्यवसाय पुनःस्थापनाका लागि सहयोगको माग गरेका छन्। उनले इन्स्योरेन्स गरिएको सम्पत्तिको क्षतिपूर्तिबाट ५० प्रतिशत रकम अग्रिम रूपमा भुक्तानी हुने व्यवस्था मिलाइदिन सरकारसँग अनुरोध गरेका छन्।

Classic Tech Desktop

यस्तै, आगलागीमा पूर्णरूपमा नष्ट भएका स्कालेटर, लिफ्ट, फ्रिजलगायत सामग्री भारत र चीनबाट पुनः आयात गर्नुपर्ने भएकाले भन्सार, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर (भीएटी) मा छूट दिन आग्रह गरिएको गुरुङले जानकारी दिए।

“मैले आफ्ना कुरा राखेँ, प्रधानमन्त्रीले अति सकारात्मक तरिकाले लिनुभयो,” गुरुङले बताए। उनले बैठकमा आफ्नो पक्षमा सकारात्मक संकेत देखिएको भन्दै आशावादी प्रतिक्रिया पनि दिएका छन्।

यसअघि पनि भाटभटेनीमाथि विभिन्न समयमा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको थियो। तर गुरुङले आफू कानूनको सम्मान गर्ने र राज्यसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन्।

सरकारको तर्फबाट हालसम्म यस विषयमा औपचारिक धारणा सार्वजनिक गरिएको छैन, तर प्रधानमन्त्री कार्कीले सहयोगी भावनाका साथ गुरुङका कुरा सुनेको जानकारी प्राप्त भएको छ।

प्रतिकृया