• २३ भदौ २०८३, मंगलबार
  • ३ः२५ राती

नेताहरूको घरमा आगजनी गरी नष्ट गरिएको विवरण सार्वजनिक, कुन कुन घर जले ?

प्रकाशित मिति

२०८२ आश्विन ५ गते, आईतवार ०४:१५

असोज ५, २०८२ काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले नेपाली कांग्रेसका शीर्ष नेताहरूको निजी सम्पत्तिमा गम्भीर क्षति पुर्‍याएको छ। आन्दोलनकारीहरूद्वारा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित ३६ जना केन्द्रीय नेताहरूको घरमा आगजनी गरी पूर्ण रूपमा नष्ट गरिएको विवरण सार्वजनिक भएको छ।

National Life

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विवरणअनुसार, सभापति देउवाको घरसहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री उमाकान्त चौधरी, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे र कोषाध्यक्ष उमेश श्रेष्ठको घरमा समेत तोडफोड र आगजनी गरिएको छ।

विशेष रूपमा गगन थापाको काठमाडौं रातोपुलस्थित घर, विश्वप्रकाश शर्माको ललितपुर र झापास्थित सम्पत्ति, उमाकान्त चौधरीको बारास्थित घर, महेन्द्र यादवको धनुषा, बद्रीप्रसाद पाण्डेको काठमाडौँस्थित डेरा, उमेश श्रेष्ठका चितवनमा रहेका दुई घरमा गम्भीर क्षति पुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसका साथै, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, पूर्वसहमहामन्त्री डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, तथा केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, सञ्जय गौतम, कृष्णचन्द्र नेपाली पोखरेल, शंकर भण्डारी, दीपक गिरी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, रामजनम चौधरी, डा. गोपाल दहित, मदनकृष्ण श्रेष्ठ, अर्जुनप्रसाद जोशी, आनन्द ढुंगाना, राजेन्द्र केसी, विनोद चौधरी, गेहेन्द्र गिरी, राजीव ढुंगाना र अनिल रुङगटाको घर पनि आन्दोलनको हिंसात्मक कार्यमा जलेर नष्ट भएको उल्लेख छ।

त्यस्तै, पार्टीका बागमती प्रदेश सभापति तथा प्रदेश मुख्यमन्त्री इन्द्र बानिया र मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवको घर पनि आन्दोलनकारीहरूले जलाएको विवरणमा छ।

जलेका घरहरू नेपाली कांग्रेसको केन्द्रीय तहदेखि प्रदेशस्तरसम्मका नेताहरूको निजी सम्पत्ति हुन्। यो घटनालाई राजनीतिक नेतृत्वमाथिको प्रत्यक्ष आक्रमणका रूपमा हेरिएको छ। सुरक्षा निकाय र सरकारप्रति प्रश्न उठाउँदै कांग्रेस नेताहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकार पुनरुत्थानमा जुट्ने बताएकी थिइन्। सोही सन्दर्भमा कांग्रेसले क्षतिको यथार्थ विवरण सार्वजनिक गरेको हो।

प्रतिकृया