जेनजी आन्दोलन छानबिन गर्न न्यायिक आयोग गठनको प्रक्रिया अघि बढ्यो
प्रकाशित मिति
२०८२ आश्विन ५ गते, आईतवार ०९:१७
असोज ५, २०८२ काठमाडौं– २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका घटनाहरूको छानबिन गर्न सरकारले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठनको प्रक्रिया अघि बढाएको छ। आन्दोलनका क्रममा राज्य पक्षबाट भएका सम्भावित कमजोरी र जिम्मेवार पक्षको पहिचान गर्न आयोग बनाउने तयारी गृह मन्त्रालयले गरेको हो। गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिँदै भने, “अब बस्ने पहिलो क्याबिनेट बैठकबाटै आयोग गठनबारे औपचारिक निर्णय गरिनेछ।”
मन्त्रालयले आयोग गठनका लागि विज्ञहरूको रोस्टर तयार गरी प्रारम्भिक छलफलसमेत गरिसकेको छ। आयोगको कार्यादेश (टीओआर) पनि टुंगोमा पुगेको बताइएको छ। सूत्रका अनुसार आयोगको नेतृत्व विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले गर्ने सम्भावना अत्यधिक रहेको छ। अधिकारीका अनुसार, “अरु केही नामहरू पनि आएका छन्, तर भ्रष्टाचारविरोधी स्पष्ट छवि भएकाले उहाँकै नेतृत्वमा आयोग बनाउने तयारी छ।” गौरीबहादुर कार्कीको नेतृत्वमा बन्ने आयोग तीन सदस्यीय रहनेछ भने अन्य दुई सदस्यहरूको नाम पनि लगभग टुंगिएको छ।
यसअघि, नेपाली सेनाको सहजीकरणमा जेनजी पक्षसँग भएको छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन प्रक्रिया अघि बढाएका थिए। प्रधानमन्त्री कार्कीको पहिलो मन्त्रिपरिषद् बैठकले नै जेनजी आन्दोलनमा भएको दमनको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको थियो।
अब आयोग गठनसँगै आन्दोलनका क्रममा भएको दमन, अधिकार हनन र जिम्मेवार पक्ष पहिचान गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु हुने अपेक्षा गरिएको छ।






प्रतिकृया