लगानीकर्ताको दबाबपछि अन्तिम १५ मिनेटको मूल्य प्रणाली हट्दै
प्रकाशित मिति
२०८२ आश्विन ३ गते, शुक्रबार १२:४३
असोज ३, २०८२ काठमाडौं– अबदेखि कारोबारको अन्तिम मूल्य १५ मिनेटको आधारमा निर्धारण हुने प्रणाली हटाइने भएको छ। स्रोतहरूका अनुसार बोर्डले यस सम्बन्धमा अन्तिम छलफल गरिरहेको छ र छिट्टै पुरानै मूल्य निर्धारण प्रणालीमा फर्कने सम्भावना प्रबल भएको छ।
गत चैत ७ गतेदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिउँसो २:४५ देखि ३ बजेसम्मको कारोबार मूल्यलाई अन्तिम मूल्यका रूपमा लिन थालेको थियो। तर, सो प्रणाली कार्यान्वयनमा आएपछि बजारमा कृत्रिम उतारचढाव र मूल्य हेरफेर बढेको भन्दै लगानीकर्ताहरूले लगातार आपत्ति जनाउँदै आएका थिए।
यही असन्तोषका कारण बिहीबार लगानीकर्ताहरू धितोपत्र बोर्ड कार्यालयमै पुगेर नाराबाजी गर्दै तत्काल नियम खारेज गर्न माग गरेका थिए। उनीहरूले मूल्य निर्धारणको वर्तमान प्रणालीले साना लगानीकर्तालाई क्षति पुर्याएको भन्दै विरोध जनाएका थिए।
बोर्ड निकट स्रोतका अनुसार नयाँ व्यवस्थामा अन्तिम मूल्य तोक्नका लागि पहिलेको अभ्यास अनुसार बजार बन्द हुने समयसम्मको समग्र कारोबार मूल्यलाई आधार बनाइनेछ। धितोपत्र बोर्डले आधिकारिक निर्णयको घोषणा भने केही दिनभित्रै गर्ने बताइएको छ।






प्रतिकृया