• १५ असोज २०८३, बिहीबार
  • ११ः२८ बिहान

चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा, खसी–च्याङ्ग्रा बिक्री अन्योलमा

प्रकाशित मिति

२०८२ भाद्र ३० गते, सोमबार ०३:१४

भदौ ३०,२०८२ काठमाडौं – सरकारले चाडपर्वलाई लक्षित गर्दै आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन सुरु गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सयौं स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेका हुन्।

National Life

यी पसलमार्फत दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिने व्यवस्था गरिएको छ। खाद्य व्यवस्थाले देशभरका ४५ जिल्लाका १११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन सुरु गरेको छ भने साल्ट ट्रेडिङ कर्पोरेशनले ३८ स्थानमा पसल सञ्चालन गरेको छ। जेनजी आन्दोलनले प्रभावित गरेका केही क्षेत्रमा भने पसल क्रमिक रूपमा सञ्चालन गरिने कम्पनीले जनाएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार कतिपय स्थानमा आजैदेखि पसल सञ्चालन भए पनि पूर्वाधार र उपकरणको कमीका कारण केही स्थानमा ढिलाइ भएको छ। उनले एक साताभित्र सबै स्थानमा पूर्णरूपमा सुपथ मूल्य पसल सञ्चालनमा आउने विश्वास व्यक्त गरे।

Classic Tech Mobile
Classic Tech Desktop

यस पटक खसी–च्याङ्ग्रा बिक्रीमा भने अन्योल देखिएको छ। अनलाइनमार्फत अग्रिम बुकिङ गरिएको भए पनि खरिद प्रक्रिया अघि बढ्न नसकेकाले च्याङ्ग्रा ल्याउने सम्भावना न्यून रहेको खाद्यका आचार्यले बताए। उनले अग्रिम भुक्तानी भइसकेको अवस्थामा खरिद सम्भव नभए पैसा फिर्ता गरिने जानकारी दिए।

सुपथ मूल्य पसलमार्फत चामल, गहुँ, दाल, गेडागुडी, तेल, नुन, चिउरा, मैदा, पिठो लगायतका उपभोग्य वस्तुमा छुट दिइनेछ। खाद्यले विशेषगरी चामलमा प्रतिकिलो ५ रुपैयाँ, गेडागुडीमा ५ रुपैयाँ, तेलमा ७ रुपैयाँ, जिरा, धनियाँ, चियापत्ती तथा जीवित खसी–बोका र च्याङ्ग्रामा १० रुपैयाँसम्म छुट दिने जनाएको छ। यस्तै साल्ट ट्रेडिङले नुनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ र अन्य वस्तुमा ७ रुपैयाँसम्म छुट दिने व्यवस्था गरेको छ।

काठमाडौं उपत्यकासहित देशका सबै प्रदेशका प्रमुख बजार क्षेत्र र दुर्गम जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालनमा आइसकेको मन्त्रालयले जनाएको छ। चाडपर्वमा सर्वसाधारणलाई आवश्यक उपभोग्य वस्तु किफायती मूल्यमा उपलब्ध गराउन सरकारले यो व्यवस्था गरेको हो।

प्रतिकृया