जेन–जी प्रदर्शनमा घाइते भएका उद्धारमा खटियो काठमाडौं महानगरको टोली
प्रकाशित मिति
२०८२ भाद्र २३ गते, सोमबार ०४:०२
भदौ २३,२०८२ काठमाडौं – काठमाडौं महानगरपालिकाले सोमबार भएको जेन–जी आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीहरूको उपचारमा सहयोग गर्ने जनाएको छ।
प्रदर्शन नियन्त्रणका क्रममा सुरक्षाकर्मीले गोली प्रहार र लाठीचार्ज गरेपछि ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएका छन्। तीमध्ये धेरैलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र महाकालस्थित ट्रमा सेन्टरमा पुर्याइएको छ। तर, अस्पतालमा घाइतेहरूको संख्या बढेपछि बेड अभावका कारण उपचारमा समस्या भएको बताइएको छ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरी खटाइएको छ। नगर प्रहरीको टोलीले अस्पताल पुगेर घाइतेहरूको उद्धार र आवश्यक सहयोग गरिरहेको छ। साथै, सिभिल र ट्रमामा उपचारका लागि ठाउँ नपुगेका घाइतेलाई अन्य अस्पतालमा पुर्याउने जिम्मा पनि महानगरकै नगर प्रहरीलाई दिइएको छ।
प्रशासनले बानेश्वर, मध्यबानेश्वर, माइतीघर र शंखमुख क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको भए पनि जेन–जी युवाहरूले अवज्ञा गर्दै माइतीघर, बानेश्वर र तिनकुने क्षेत्रमा प्रदर्शन जारी राखेका छन्।








प्रतिकृया