खाद्य प्रविधि विभागले अनलाइन सेवा सुरु, उद्योग दर्ता र अनुमतिपत्र अब घरमै
प्रकाशित मिति
२०८२ भाद्र १८ गते, बुधबार १०:५२
भदौ १८,२०८२ काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत सरकारी सेवा उपलब्ध गराउन सुरु गरेको छ। विभागले नेपाल फूड एण्ड फिड इन्डस्ट्री लाइसेन्सिङ सिस्टम मार्फत खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा सुरु गरेको हो।
मंगलबार महानिर्देशक संजीवकुमार कर्णको अध्यक्षतामा विभागमा आयोजित अभिमुखीकरण तथा तालिम कार्यक्रममा काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकका ७० भन्दा बढी उद्योगी व्यवसायी सहभागी भएका थिए। कार्यक्रममा उद्योगीहरुलाई अनलाइन सेवाको प्रक्रिया र सुविधाबारे जानकारी दिइएको थियो।

नयाँ प्रणालीमार्फत आवेदन, कागजात अपलोड, अनुमतिपत्र जारी तथा नवीकरण सबै प्रक्रिया अनलाइनमै हुनेछन्। यसले पेपरलेस र फेसलेस सेवामा योगदान पुग्ने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए। उनका अनुसार हाल काठमाडौं र हेटौंडास्थित कार्यालयमार्फत सेवा सुरु भए पनि निकट भविष्यमा सबै कार्यालयमा विस्तार गरिनेछ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार अब खाद्य उद्योग दर्ता, अनुमतिपत्र जारी र नवीकरण प्रक्रियामा आधुनिक विद्युतीय प्रणाली प्रयोगमा ल्याइने व्यवस्था गरिएको विभागले जनाएको छ।




प्रतिकृया