• २० असोज २०८३, मंगलबार
  • १०ः२२ राती

सुदूरपश्चिम लगानी सम्मेलनलाई नेपाल चेम्बर अफ कमर्सको पूर्ण सहयोग

प्रकाशित मिति

२०८२ भाद्र १६ गते, सोमबार ११:३२

भदौ १६,२०८२ काठमाडौं – नेपाल चेम्बर अफ कमर्सले आगामी मंसिर १ र २ गते हुने सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनलाई पूर्ण सहयोग गर्ने जनाएको छ। लगानी सहजीकरण, प्रचार–प्रसार तथा निजी क्षेत्रको सक्रिय सहभागिता सुनिश्चित गर्न चेम्बरले प्रतिवद्धता व्यक्त गरेको हो।

National Life

आइतबार काठमाडौंको जमलस्थित चेम्बर भवनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेशका मन्त्रीहरू तथा प्रदेश योजना आयोगका सदस्यहरूसँग भएको छलफलमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले सम्मेलनलाई सफल बनाउन संस्थागत सहयोग गर्ने आश्वासन दिएका हुन्।

अध्यक्ष अग्रवालले भने, “सुदूरपश्चिमको आर्थिक विकासका लागि प्राकृतिक स्रोतको अथाह सम्भावना छ। नीतिगत सुधार भयो भने निजी क्षेत्र आफैं लगानी गर्न आउँछ। पानी र लगानी एउटै प्रकृतिको हुन्छ, जता ओरालो रहन्छ उतै बग्ने गर्दछ।”

Classic Tech Mobile
Classic Tech Desktop

सम्मेलनमा उद्योग, खानीजन्य उपज, पर्यटन, सूचना प्रविधि, ऊर्जा, कृषि, जडीबुटी, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। विशेषगरी जलविद्युत्, कृषि उत्पादन, पर्यटन र सीमा–पार व्यापारमा लगानीको उच्च सम्भावना रहेको चेम्बरको निष्कर्ष छ। पञ्चेश्वर, कर्णाली र पश्चिम सेती जस्ता आयोजना सञ्चालनमा आए राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुग्ने चेम्बरले जनाएको छ।

चेम्बरले सम्मेलनमार्फत कर–राहत, जग्गा व्यवस्था, एकद्वार प्रणाली र सार्वजनिक–निजी साझेदारी (PPP) मोडललाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको छ। साथै वातावरणमैत्री उद्योग, जैविक खेती र नवीकरणीय ऊर्जा परियोजनामा लगानीले दीर्घकालीन फाइदा दिने अध्यक्ष अग्रवालको भनाइ छ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकासका लागि चेम्बरको सहयोग महत्वपूर्ण रहेको भन्दै सहकार्यका लागि प्रस्ताव गरे। उनले भने, “पहिले आन्तरिक लगानीको वातावरण तयार गरेर मात्रै बाह्य लगानी आकर्षण गर्ने सरकारको योजना छ। रोजगारी सृजना र छिमेकी देशको बजारमा सुदूरपश्चिमका उत्पादन पु-याउने हाम्रो लक्ष्य हो।”

चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले बाँझो जमिनलाई सदुपयोग गर्ने नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए। विदेशबाट सीप लिएर फर्किएका युवाको लगानीलाई प्रोत्साहन गर्नुपर्नेमा पनि उनले सुझाव दिए।

वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जलविद्युत् आयोजनालाई उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै खप्तड राष्ट्रिय निकुञ्ज, अपि–सैपाल हिमश्रृङ्खला, बैजनाथ धाम, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका स्थलमा इको–टुरिजम, धार्मिक र साहसिक पर्यटनमा लगानीको अवसर रहेको बताए।

प्रतिकृया