• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

बागलुङका ग्रामीण क्षेत्रमा दुई हजार १२० घरमा लाइन विस्तार, स्थानीय खुसी

प्रकाशित मिति

२०८२ भाद्र १५ गते, आईतवार ११:३३

भदौ १५,२०८२ बागलुङ – लघुजलविद्युत्को भरमा विद्युत् प्रयोग गर्दै आएका बागलुङका ग्रामीण क्षेत्रमा धमाधम केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको छ। नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले पछिल्लो एक वर्षमा दुई हजार १२० घरमा केन्द्रीय लाइन पुर्‍याएको छ।

प्राधिकरणका प्रमुख पवन पौडेलका अनुसार जिल्लाका पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकामा अहिले काम भइरहेको छ। यस वर्ष ३५ किलोमिटर ११ केभी र ४९ किलोमिटर ०.४ केभी लाइनको संरचना निर्माण गरी ३७ स्थानमा ट्रान्सफर्मर जडान गरिएको छ।

Kamana Sewa

“बागलुङ वितरण केन्द्रबाट पश्चिम बागलुङमा लाइन विस्तारमा जोड दिएका छौँ, यस वर्ष ढोरपाटन र बडिगाडका केही स्थानमा बत्ती बाल्यौँ,” प्रमुख पौडेलले भने। हाल जिल्लाका ८५ प्रतिशत घरमा विद्युत् पुगेको छ, जसमा २९.९ प्रतिशत घरमा मात्र लघुजलविद्युत्को प्रयोग भइरहेको छ।

Classic Tech Desktop

केन्द्रीय लाइन विस्तारपछि स्थानीय खुसी भएका छन्। बडिगाड–९ का कुलबहादुर क्षेत्रीले भने, “केन्द्रीय लाइन जडान भएपछि लघुजलविद्युत्को कारण महिनौँ अँध्यारोमा बस्नु पर्ने बाध्यता हटेको छ, यद्यपि बर्खामा अझै लाइन जाने समस्या रहन्छ।”

तर, सबै क्षेत्रमा लाइन पुगेको छैन। निसीखोला गाउँपालिका–५ स्थित निसेलढोर अझै अन्धकारमै छ। स्थानीय देवबहादुर विकका अनुसार गाउँमा लाइन नहुँदा मोबाइल चार्ज गर्न पनि घण्टौँ हिँडेर ढोरपाटन जानुपर्ने बाध्यता छ। जिल्लाभर ९८ भन्दा बढी लघुजलविद्युत् आयोजना सञ्चालनमा भए पनि निसेलढोरमा लाइन अझै पुगेको छैन।

प्रतिकृया