• २० असोज २०८३, मंगलबार
  • ६ः५७ बेलुका

एक वर्षमा १७ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो, १९.२ प्रतिशतले वृद्धि

प्रकाशित मिति

२०८२ भाद्र ८ गते, आईतवार ०३:०७

भदौ ८,२०८२ काठमाडौं – नेपालमा एक आर्थिक वर्षमा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय स्थितिको विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाहमा १९.२ प्रतिशतको उल्लेखनीय वृद्धि भएको देखिएको हो।

National Life

राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो, जबकि यस वर्ष वृद्धि दर झनै उकालो लागेको छ।

२०७९/८० मा असार महिनामा रेमिट्यान्स आप्रवाह ११७ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा, २०८२ को असारमा यो रकम १८९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। यसले एक महिनामै झण्डै ७१ अर्ब रुपैयाँको वृद्धि देखाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अमेरिकी डलरमा मूल्यांकन गर्दा पनि विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्ष सो वृद्धि दर १४.५ प्रतिशत थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (Net Transfer Income) पनि उल्लेखनीय रूपमा बढेको छ। २०८१/८२ मा कुल १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १५ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।

राष्ट्र बैंकको विवरणअनुसार वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिनेको संख्या ५,०५,९५७ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ३,३३,३०९ रहेको छ। अघिल्लो वर्ष यो संख्या क्रमशः ४,६०,१०२ र २,८१,१९५ रहेको थियो।

रोजगारीका लागि विदेशिने नेपालीको संख्या बढिरहँदा विप्रेषण आप्रवाहमा समेत स्थिर र उच्च दरको वृद्धि देखिनु अर्थतन्त्रका लागि सकारात्मक संकेत हो। तर दीर्घकालीन रूपमा देशभित्र रोजगारी सिर्जना गरेर उत्पादनमूलक अर्थतन्त्र निर्माण नगर्दासम्म यो निर्भरता चुनौती पनि बन्न सक्छ।

प्रतिकृया