छुट्ला है ! बुङ्गल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
प्रकाशित मिति
२०८२ श्रावण २६ गते, सोमबार १०:३१
श्रावण २६,२०८२ काठमाडौ — बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन आज हो। कम्पनीले असार २९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।
यसअन्तर्गत पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएका २ लाख ७ हजार ५०० कित्तामा मागभन्दा बढी आवेदन आएपछि साउन ११ गते नै बिक्री बन्द भएको थियो। तर आयोजना प्रभाविततर्फ पर्याप्त आवेदन नपरेपछि अवधि थप गरेर आज (साउन २६ गते) सम्म कायम गरिएको हो।
आयोजना प्रभावितका लागि छुट्याइएको ८ लाख ३० हजार कित्तामध्ये ५ लाख ३९ हजार ५०० कित्ता आईपीओमा आयोजना अति प्रभावित क्षेत्रका बासिन्दा—बुंगल नगरपालिका–६ (साविक पिपलकोट गाविस वडा ४, ५ र ७) र वडा नम्बर ७ (साविक कफल्सेरी गाविस वडा १)—ले आवेदन दिन पाउनेछन्।
त्यस्तै, २ लाख ९० हजार ५०० कित्ता आईपीओमा आयोजना सामान्य प्रभावित क्षेत्रका बासिन्दा—बुंगल नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ८, ९, १० र ११—ले आवेदन दिन सक्नेछन्।
आवेदन दिने क्रममा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। आज साँझ ५ बजेपछि निष्कासन बन्द हुनेछ।







प्रतिकृया