बरियारपट्टी छोटी भन्सारले तीन वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि
प्रकाशित मिति
२०८२ श्रावण १७ गते, शनिबार १०:२१
श्रावण १७, २०८२ काठमाडौं – सिरहाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्ला तीन आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय प्रगति गरेको छ। सीमावर्ती व्यापारिक गतिविधिको विस्तार र चेकपोइन्ट व्यवस्थापनमा सुधारले राजस्व संकलनमा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।
आर्थिक वर्ष २०७९/८० मा मात्र १९ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गरेको यो कार्यालयले आव २०८०/८१ मा ४६ लाख ५० हजार र २०७८/८२ मा ७० लाख ६ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ।
छोटी भन्सार कार्यालयका प्रमुख शम्भु केसीका अनुसार हाल मासिक औसत ६ लाख रुपैयाँ बराबरको राजस्व संकलन भइरहेको छ। उनका अनुसार, “खाद्यान्न, किराना सामान, मेलापर्वका सामग्री, खेलौना तथा सजावटका वस्तुहरू मुख्य रूपमा यो नाका भएर आयात हुने गर्छन्।”
राजस्व वृद्धिको मुख्य कारणको रूपमा सिमावर्ती व्यापारको विस्तार, व्यवस्थापन सुधार तथा आयातकर्ताको सक्रियता रहेको प्रमुख केसीले बताए। उनका अनुसार, आगामी महिनामा चाडपर्व नजिकिँदै जाँदा व्यापारिक चहलपहल बढ्ने भएकाले राजस्व संकलन अझै बढ्ने अपेक्षा गरिएको छ। स्थानीय व्यवसायीहरू पनि भन्सारको सुधारप्रति सन्तुष्ट देखिएका छन्। व्यापारी मुकेशकुमार यादव भन्छन्, “पहिले सामान ल्याउँदा धेरै झन्झट पर्थ्यो, अहिले प्रक्रिया छरितो छ र राजस्व बुझाएर सहजै सामग्री ल्याउन सकिन्छ।”
सिरहा जिल्लामा भारतसँग सीमा जोडिएका माडर र ठाडी गरी दुईवटा मूल भन्सार तथा एकवटा छोटी भन्सार सञ्चालनमा रहेका छन्। विशेष गरी गाउँस्तरको सस्तो तथा दैनिक उपभोग्य वस्तुहरू आयात गर्न बरियारपट्टी भन्सारले महत्त्वपूर्ण भूमिका खेलेको छ।








प्रतिकृया