• १५ असोज २०८३, बिहीबार
  • ३ः२७ राती

बागमती प्रदेशको अर्का मन्त्री खड्काले पनि दिए राजीनामा

प्रकाशित मिति

२०८२ श्रावण १३ गते, मंगलवार १२:२०

श्रावण १३ ,२०८२ काठमाडौं ।  बागमती प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका अर्का एक मन्त्रीले राजीनामा दिएका छन्। खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्यामकुमार खड्काले सोमबार साँझ मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा बुझाएका हुन्।

National Life

खड्काले राजीनामा दिएसँगै मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्। यससँगै अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदको संख्या २२ पुगेको छ।

यसअघि ९ साउनमा चार जना मन्त्रीले राजीनामा दिएका थिए। युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका थिए। यद्यपि, उनीहरूले राजीनामा दिएपछि साँझ मुख्यमन्त्री लामाले उनीहरूलाई पदमुक्त गरिएको पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पठाएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

मुख्यमन्त्री लामा अहिले आफ्नै दल कांग्रेसका २१ जना सांसदको अविश्वास प्रस्तावको सामना गरिरहेका छन्। पार्टीभित्रको विवाद समाधान गर्न कांग्रेस केन्द्रबाट खटिएका केन्द्रीय सदस्य राजन केसीले सोमबार दिउँसोदेखि मुख्यमन्त्री लामा र सांसद इन्द्रबहादुर बानियाँलाई राखेर छलफल गरिरहेका छन्।

यसैबीच, कांग्रेस संसदीय दलको बैठक दिउँसो १ बजे बोलाइए पनि साँझ ४ बजेसम्म बैठक बस्न सकेको थिएन।

बागमती कांग्रेसभित्रको आन्तरिक संघर्ष झनै चर्किंदै जाँदा मुख्यमन्त्री लामाको नेतृत्व संकटमा पर्दै गएको देखिएको छ।

प्रतिकृया