१ करोड ३२ लाखको बैंकिङ कसुर मुद्दामा फरार भरत चौलागाई पक्राउ
प्रकाशित मिति
२०८२ असार ३० गते, सोमबार ०४:५७
असार ३०,२०८२ काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका भरत चौलागाईलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ। चौलागाईमाथि १ करोड ३२ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर सम्बन्धी मुद्दा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनलाई असार २९ गते बिहान इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले निजगढ नगरपालिका–१, सिंगौलस्थित गाउँघरमा घुमफिर गरिरहेको अवस्थामा पक्राउ गरेको हो। टोली प्रहरी निरीक्षक जीवन लामिछानेको कमाण्डमा परिचालित भएको थियो।
गुप्त सूचनाका आधारमा गरिएको अपरेसनपछि चौलागाईलाई नियन्त्रणमा लिइएको हो। उनलाई काठमाडौँ जिल्ला अदालत बबरमहलले २०८२ साल असार १८ गते पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउपछी चौलागाईलाई विमानमार्फत सिमरा विमानस्थल हुँदै काठमाडौँ ल्याइएर काठमाडौँ प्रहरी परिसरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।








प्रतिकृया