काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै, बजेट पेसको तयारी
प्रकाशित मिति
२०८२ असार २७ गते, शुक्रबार ०९:२९
असार २७,२०८२ काठमाडौं । लामो समयदेखि स्थगित हुँदै आएको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज (शुक्रबार) बस्न लागेको छ। बैठक आज दिउँसो २ बजे मेयर बालेन शाहको अध्यक्षतामा बस्ने कार्यक्रम तय गरिएको हो।
महानगरका ४१ जना कार्यपालिका सदस्यहरूले जेठ १२ गते मेयर शाहलाई पत्र पठाउँदै बैठक तत्काल बोलाउन माग गरेपछि कार्यपालिका बैठक आह्वान गरिएको हो। संविधानअनुसार स्थानीय तहले असार १० भित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने भए पनि महानगर सो समयसीमाभित्र बजेट ल्याउन असफल भएको छ।

आजको कार्यसूचीअनुसार बिहान ११ बजे मेयरको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्नेछ। त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक हुनेछ। कार्यपालिका बैठकले आगामी वर्षका लागि नीति, कार्यक्रम र बजेट तयार गरी नगर सभामा पेस गर्नेछ। साथै, बैठकले नगर सभाको मिति पनि तय गर्नेछ।

यसअघि मेयर बालेन शाह र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण कार्यपालिका बैठक बस्न सकेको थिएन। मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई सहभागी नगराई बैठक गर्न नमानेपछि बजेट प्रक्रिया अवरुद्ध भएको थियो। तर, आजको बैठकमा गुरागाईं पनि सहभागी हुने जनाएका छन्। उनले “मेयरले बैठक बोलाएको जानकारी प्राप्त भएकाले” आफू पनि बैठकमा सहभागी हुने बताएका छन्।




प्रतिकृया