भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीसमेत मुछिएका सांसद सिंहको आरोप
प्रकाशित मिति
२०८२ असार २३ गते, सोमबार ०४:११
असार २३, २०८२ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म पार्टीको आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद सिंहले राप्रपाले संसदीय छानबिन समिति गठनको माग गर्दै ४१ दिनभन्दा बढी समयदेखि सदन अवरुद्ध गरिरहेको स्मरण गराउँदै भने, “दुई तिहाइको दम्भमा सदन चलाउनु हुँदैन भन्ने हाम्रो स्पष्ट धारणा छ।” उनले भिजिट भिसा दुरुपयोगको प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारीहरू सम्मको संलग्नता रहेको गम्भीर आरोप समेत लगाउँदै यस्तो गम्भीर विषयमा छानबिन समिति गठन नगर्नु दुःखद रहेको बताए।
“संसारभरि नेपालीहरूको बदनामी भइरहेको यत्रो मुद्दा चुपचाप पार्न खोजिएको छ,” उनले भने, “अन्य विषयमा समिति बन्न सक्छ भने यो विषयमा किन होइन? छानबिन समिति गठन नभएसम्म राप्रपाले संसद् बहिष्कार गर्छ।” सिंहले सरकारलाई संसद् सञ्चालनको नाममा बलमिच्याइँ नगर्न चेतावनी दिँदै लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न आग्रह गरे।








प्रतिकृया