• २१ असोज २०८३, बुधबार
  • ५ः१० बिहान

विनोद चौधरीको कडा प्रहार : निजी क्षेत्रको अनुभवमाथि लाञ्छना सह्य छैन

प्रकाशित मिति

२०८२ असार १७ गते, मंगलवार ०४:३०

असार १७, २०८२ काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले पार्टी नेता डा. शेखर कोइरालाले उठाएको प्रश्नको जवाफ दिँदै तीव्र आलोचना गरेका छन्। सोमबार केन्द्रीय कार्यसमिति बैठकमा कोइरालाले चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता बारे उठाएको प्रश्नको जवाफ मंगलबारको बैठकमा चौधरीले दिएका हुन्।

National Life

चौधरीले भने, “उहाँले प्रश्न उठाउनुभयो, विनोद चौधरीजस्तो मान्छेलाई चार वर्षअगाडि नीति नियम मिचेर केन्द्रीय समितिमा ल्याउनु गलत निर्णय थियो। म स्पष्ट पार्न चाहन्छु, त्यो सबै प्रक्रिया पार्टीको नियम, कानुन विभागको विश्लेषण, अर्को पार्टीबाट आएको पृष्ठभूमि र अदालतको निर्णयसमेतका आधारमा विधिसम्मत रूपमा गरिएको थियो।”

उनले कोइरालाको टिप्पणीले निजी क्षेत्रबाट आएका व्यक्ति तथा अनुभव बोकेका नेताहरूको भूमिकामाथि नै प्रश्न उठाएको उल्लेख गरे। “कि हामीजस्ता अनुभव बोकेकाहरूलाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ को नाममा सधैं रोकिरहने हो?” चौधरीले गम्भीर प्रश्न उठाए।

Classic Tech Mobile
Classic Tech Desktop

यसै क्रममा चौधरीले गत निर्वाचनमा आफूलाई हराउन प्रयास गर्ने व्यक्तिलाई साथमा राखेर पार्टी हाँक्ने सपना देख्ने नेताहरूको आलोचना गरे। उनले नाम नलिईकन कोइरालाले लुम्बिनी प्रदेश महामन्त्रीसँगको सम्बन्धलाई पनि संकेत गरे। “पार्टीका शीर्ष नेताविरुद्ध खटिएर मलाई हराउन भूमिका खेल्नेहरूलाई बोकेर पार्टी हाँक्ने सपना देखिन्छ भने त्यो खतरनाक संकेत हो,” चौधरीको भनाइ थियो।

यता, सोमबार डा. कोइरालाले चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता, क्रियाशील सदस्यताको अवधि तथा सुजाता कोइरालाको विगतको प्रसंग जोड्दै प्रश्न उठाएका थिए। “चौधरीको योग्यता के थियो? क्रियाशील सदस्यताको १० वर्ष पुगेको थियो?” उनले सोधेका थिए।

प्रतिकृया