शिक्षा विधेयकमा सहमति खोज्न शिक्षामन्त्री पन्त पुगे सानेपा , देउवासँग छलफल जारी
प्रकाशित मिति
२०८२ असार १६ गते, सोमबार ०४:२०
असार १६ , २०८२ काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन शिक्षामन्त्री रघुजी पन्त नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन् । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न उनी सानेपा पुगेका हुन् । ललितपुरको सानेपास्थित देउवाको कार्यकक्षमा अहिले छलफल जारी रहेको स्रोतले जनाएको छ । विधेयकका विषयमा हालसम्म सहमति जुट्न नसकेको र विवादित बुँदाहरूमा साझा धारणा बनाउने प्रयासस्वरूप पन्त देउवासँग भेटघाटमा जुटेका हुन् ।
यसअघि शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीचको वार्ता सहमति बिना टुंगिएको थियो । मन्त्रालयले शिक्षक पदपूर्तिको प्रक्रिया अन्तर्गत ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव अघि सारेको थियो । तर, महासंघका प्रतिनिधिहरू उक्त प्रस्तावप्रति असहमति जनाउँदै वार्ता छाडेर बाहिरिएका थिए ।

शिक्षामन्त्री पन्त देउवासँग छलफलमा जुटिरहँदा सानेपामा कांग्रेसको केन्द्रीय समिति बैठक पनि जारी छ । बैठककै बीच पन्त पुगेपछि देउवाले उनलाई भेटेर छलफल थालेका हुन् ।





प्रतिकृया